विराटनगर / सर्वसाधारण कोरोना महामारीको चपेटामा परिरहेका बेला विराटनगरमा स्वास्थ्य सामाग्री र औषधीमा कालोबजारी खुलेआम कालोबजारी हुन थालेको छ । सरकारले कोरोना नियन्त्रणका लागि निषेधज्ञा जारी गरेकोे मौका छोपेर फार्मेशी संचालकले अति आवस्यक स्वास्थ्य सामाग्रीको कालोबजारी गर्न थालेका हुन् । 

कालोबजारी सुरु भएको जनगुनासो आउन थालेपछि मोरङ प्रहरीले विषेश अप्रेसन थालेको छ । प्रहरी अप्रेशनकै क्रममा विराटनगर  –  ७ कोशी अस्पताल अगाडी रहेको एक फार्मेशीको नाम परिवर्तन गरि दुहबी  ७ का श्याम चौधरीले स्वास्थ्य सामाग्रीमा कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले शनिबार पक्राउ गरेको छ ।

OM Sai Pathibhara Hospital

चौधरीले ६ हजार ८ सय ८० रुपैयाँ पर्ने  अक्सिजन दिने विरामीले प्रयोग गर्ने सिलकोन फुल फेस माक्स र एनआइभी माक्स उपभोक्तालाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको मोरङले जानकारी गराएको छ ।

एनआइभी माक्स १ हजार ६ सय २० रुपैयाँ बढी मूल्य लिएर बिक्री गर्दै गरेको अवस्थामा चौधरीलाई पक्राउ गरीएको र उनीमाथि कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ । 

मोरङ प्रहरीले गत बिहीबार पनि औषधी खरिदमा विरामी ठगी गरेको आरोपमा विराट नर्सिङ्ग होम अगाडीको पश्चिमबासी फार्मेसीका संचालक रविन्द्र महतोलाई पक्राउ गरेको थियो । उनी नर्सिङ होममा आएका विरामीका आफन्त सँग मुल्य लिएर औषधि विक्री गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । 

७ फार्मेशी कारबाहीमा

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले पनि औषधिमा कालोबजारी र नक्कली औषधिको बिक्री हुने गरेको सार्वजनिक भएपनि अनुगमनलाई तिव्रता दिएको छ । कार्यालयले अनुगमनका क्रममा  मोरङ र सुनसरीका ७ वटा औषधी पसललाई कारबाही गरिएको जनाएको छ । स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्ने , खरिद तथा बिक्री बिजक नदेखाउने लाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरिएको सो कार्यालयले जानकारी गराएको छ । 

कार्यालयले गत आइतबार मोरङको बुढीगंगा २ टंकिसिनवारी स्थित विज्ञान फार्मेसीलाई सेनिटाइजरको कालोबजारी गरेको अभियोगमा कार्वाही गरिएको जनाएको छ । फार्मेशीले १ सय ६ प्रतिशितसम्म मुनाफा राखि सेनिटाइजर बिक्री वितरण गर्ने गरेको भेटिएको थियो । 

त्यसैगरी गत मंगलबार इटहरी स्थित औषधिजन्य सामाग्रीको थोक बिक्रेता विविता सर्जिकल हाउसलाई पनि सेनिटाइजरमा कालोबजारी गरेको अभियोगमा सो कार्यालयले कार्वाही गरेको थियो । भारतीय कम्पनीको ‘लाइफ ग्रुथ’ ब्राण्डकोे ह्यान्ड स्यानिटाइजर १ सय ३ प्रतिशत भन्दा बढी मुनाफा राखि बिक्री गर्ने गरेको भेटिएपछि वाणिज्य कार्यालयले २ लाख जरिवना गरेको थियो ।

सो कार्यालयले मोरङ र सुनसरीका ९ वटा फार्मेशीमा अनुगमन गरिएको जनाएको छ । अनुगमन गरिएको ९ वटा फार्मेसी मध्ये  ७ वटा फार्मेशीले स्वास्थ्य सामाग्रीमा अस्वभाविक मुल्य कायम गरि अत्याधिक मुनाफा राखि कालोबजारी गर्ने गरेको भेटिएपछि कारबाही गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्याल प्रमुख सन्तोष पोखरेलले जानकारी गराएका छन् ।