बिर्तामोड / देशभर संवैधानिक कु को विरोध भईरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा भएको संवैधानिक कुको समर्थन गरेका छन् ।
संसदमा रहेका राप्रपाका एक मात्रै सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको प्रतिकृया दिएका छन् ।
सांसद लिङ्देनले महामारीका बेला निर्वाचन सम्पन्न गर्न कठिनाई भएपनि यो उपयुक्त कदम भएको प्रतिकृया दिएका हुन् । उनले आफ्नो दलले आधिकारीक धारणा बनाई नसकेको भएपनि संसद असफल भएकाले यो कदम सहि भएको जिकीर गरेका हुन् । उनले विधी प्रक्रियाको कुरा एउटा ठाउँमा भएपनि संसद विकृत भएकाले नयाँ प्रणालीका लागि निर्वाचनमा जानु पर्ने तर्क गरेका छन् ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको प्रतिकृया दिएका छन् । अध्यक्ष बिजुक्छेले आफ्नो पार्टीले पहिलेदेखि भन्दै आएको कुरा अहिले सहि सावित भएको दावी पनि गरेका छन् ।
उनले राजनितिक दलहरुको अराजकता र भद्रगोलले सिमा नाघेका बेला यो नै सहि कदम भएको दावी पनि गरेका छन् । उनले अहिले भइरहेको पार्टीहरूको अराजकता धेरै समय राख्न नहुने भन्दै चुनाव नै अहिलेको आवश्यकता भएकोमा जोड पनि दिए का छन् ।