काठमाडौं / विपक्षी गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनका लागि एमाले नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल सुरु भएको छ ।
एमालेका वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीमा विपक्षी गठबन्धनले प्रस्ताव गर्नेबित्तिकै बहुमत पुग्ने सम्भावना देखिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो । विपक्षी गठबन्धनको सरकार निर्माणबारे छलफल गर्न अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफल भइरहेको छ ।
उक्त छलफलमा कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव र एमालेका माधव नेपाल सहभागी छन् । नेपाल पक्षमा एमालेका २८ जना सांसद छन् । कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । र, जसपाको उपेन्द्र यादवको पक्षमा १५ जना सांसद छन् । त्यो संख्या जोड्दा १५३ जना सांसद पुग्छन् ।
त्यो अनुसार सरकार बन्ने अवस्थाका लागि अधिक बहुमत हुन्छ । माधव नेपालनिकट एक स्थायी समिति सदस्यले पनि नेपाल प्रधानमन्त्री हुने सम्भावना रहेको दाबी गरे ।
यो विकल्पबारे हिजोदेखि हामीले कुरा गरेको छौँ, कांग्रेस र माओवादी केन्द्रको सकारात्मक कुरा आएको छ । अन्तिम निर्णयको प्रतीक्षामा छौँ, नेपाल समूहका एक नेताले भने ।
अहिले संविधानको धारा ७६ को ५ अनुसार बन्ने सरकारमा पार्टीको ह्वीप नलाग्ने भएकाले विपक्षी गठबन्धनले उक्त प्रयास गरेको हो । संविधानविद् भीमार्जुन आचार्यले ५ अनुसार सरकार बनाउन दलको ह्वीप नलाग्ने बताए । त्यसैगरी संविधानविद् पूर्णमान शाक्यले भने ह्वीप लाग्ने कि नलाग्ने भन्ने विषय प्रस्ट व्याख्या नभएको बताए ।
पूर्वन्यायाधीश बलराम केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि जालसाजी गरेको दाबी गरे । तर, दलविशेष होइन, सांसदको सदस्यले दाबी गर्ने भएकाले नेता नेपालको सम्भावना हुने बताए । त्यस्तो बेलामा ह्वीप महत्वपूर्ण कुरा नभएको उनले बताए ।