पेरिस(गोर्खापत्र दैनिकबाट) स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्सले अर्का महिनाबाट सुरु हुने युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा बेन्जेमालाई ६ वर्षपछि टोलीमा समावेश गरेको हो ।

२०१५ मा आफ्नै सहकर्मीमाथि ए बल्बुएनको यौन भिडियो बनाएर ‘ब्लयाकमेल’ गरेको आरोप लागेपछि उनलाई टोलीबाट निष्कासन गरिएको थियो । त्यसपछि उनी २०१५ अक्टोबरयता फ्रान्सको टोली बाहिर रहेका थिए । उनले आफूमाथि लागेको आरोप झुटो रहेको बताउँदै आएका थिए । यो अवधिमा बेन्जेमाले घरमै आयोजना भएको युरोकप २०१६ र फ्रान्स २०१८ मा विश्वकप च्याम्पियन बन्दाको खेल गुमाएका थिए । फ्रान्सको राष्ट्रिय टोलीमा पुनरागमन गरेसँगै बेन्जेमाले फ्रान्समा फर्किन पाएकोमा गर्व महसुस भएको बताएका छन् ।

OM Sai Pathibhara Hospital

‘फ्रान्समा फर्किन पाएकोमा ठूलो गर्व छ र उनीहरूले ममाथि राखेको विश्वास’ बेन्जेमाले सामाजिक सञ्जालमा पोस्ट गरे, ‘मेरो परिवार, मेरो क्लब, मेरो साथीहरू र तपाईहरू जसले मलाई समर्थन गर्नुभयो र मलाई हौसला दिइरहनुभयो सबैलाई धन्यवाद ।’ बेन्जेमाले प्रशिक्षक डेसच्याम्पसँग उनीहरूको मतभेद सुल्झाउन भेट गरेका थिए । त्यसपछि प्रशिक्षक डेसच्याम्पले उनलाई टोलीमा फर्काउने निर्णय गरेका थिए ।

यौनकाण्डपछि ८ अक्टोबर २०१५ मा अर्मेनियाविरुद्धको ४–० को जित निकालेको खेल बेन्जेमाका लागि फ्रान्सका लागि अन्तिम खेल बनेको थियो । उनले सो खेलमा २ गोल गरेका थिए । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २०१८ मा क्लब छाडेपछि ३३ वर्षीय बेन्जेमा रियलका लागि मुख्य खेलाडी रहँदै आएका छन् । फ्रान्सबाहिर खेल्ने उत्कृष्ट फ्रान्सेली फरवार्ड बनेका बेन्जेमाले यो सिजन रियलका लागि ४४ खेलमा २९ गोल गरिसकेका छन् ।

सोही कारण पनि प्रशिक्षक डेसच्याम्पले उनलाई टोलीमा समेट्नुपर्ने दबाब बढेको थियो । विगत ६ वर्षको विभिन्न उतारचढावका बाबजुत फ्रान्सेली फुटबल महासंघका अध्यक्ष नोएल ले ग्रेटेले पनि उनलाई टोलीमा समेट्ने प्रयास गरेको थियो । टोली गोलका लागि संघर्ष गरिरहेको अवस्थामा बेन्जेमाको उत्कृष्ट लयका कारण पनि उनलाई बेवास्ता गर्न सकेका थिएनन् । २००७ देखि राष्ट्रिय टोलीमा रहेका बेन्जेमाले ८१ खेलमा २७ गोल गरेका छन् । फ्रान्स रहेको समूह ‘एफ’मा जर्मनी, हंगेरी र पोर्चुगल रहेका छन् ।

१५ जुनमा फ्रान्सले जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । त्यसपछि १९ जुनमा हंगेरी तथा २३ जुनमा पोर्चुगलसँग खेल्नेछ । त्यसअघि फ्रान्सले २ जुनमा वेल्स र ८ जुनमा बुल्गेरियासँग मैत्रीपूर्ण खेल खेल्दै छ । यस्तै, मिडफिल्डर थोमस मुलर र डिफेन्डर म्याट हमेल्सले दुई वर्षपछि जर्मनीको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

मुख्य प्रशिक्षक जोचिम लोले आसन्न युरोकपका लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा उनीहरूले दुई वर्षपछि टोलीमा स्थान बनाएका हुन् । प्रशिक्षक लोले नयाँ पुस्तालाई अवसर दिने भन्दै २०१९ मा यी २ खेलाडीलाई टोली बाहिर राखेका थिए ।

तर, उनीहरूले क्लब स्तरमा लगातार उच्च प्रदर्शन गरेपछि लो युटर्न भएका हुन् । हमेल्स र मुलरले २०१६ देखि २०१९ सम्म बायर्न म्युनिखबाट सँगै खेलेका थिए । ‘म साँच्चिकै खुसी छु । जर्मनीबाट पुनः खेल्न पाउँदा गर्व गर्छु,’ टोलीमा स्थान बनाएपछि हमेल्सले प्रतिक्रिया दिएका छन् । यस्तै, मुलरले ‘ब्याक अगेन’ लेख्दै पुनरागमन गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।