काठमाडौँ(कान्तिपुर दैनिकबाट) विश्वकप छनोट र इराकविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि घोषित २३ सदस्यीय नेपाली राष्ट्रिय टिममा ६ नयाँ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चैतमा थ्री नेसन्स कप विजेता टिमका १३ खेलाडी हटाउँदै मंगलबार राष्ट्रिय टिम घोषणा गरेका हुन् ।

थ्री नेसन्स कप जितेलगत्तै एन्फाले कुवेती नागरिक अब्दुल्लाहलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनले नेपाल सुपर लिग ९एनएसएल० अघि ३२ खेलाडीको प्रारम्भिक सूची निकालेका थिए । त्यसमा आठ खेलाडी परिवर्तन गर्दै उनले बन्द प्रशिक्षणको लागि आइतबार फेरि ३२ खेलाडी छनोट गरेका थिए, जहाँ एनएसएल च्याम्पियन काठमाडौं रेजर्सका कुनै पनि खेलाडी परेनन् । त्यसबाटै उनले टिममा आमूल परिवर्तन गर्ने संकेत दिइसकेका थिए ।

OM Sai Pathibhara Hospital

उनले प्रारम्भिक सूचीमै तीन गोलकिपर लिएका थिए । थ्री नेसन्स कप विजेता कप्तान किरण चेम्जोङ र दीप कार्की यथावत् छन् भने विशाल सुनारले राष्ट्रिय टिममा पहिलोपल्ट स्थान पाएका छन् । विशालले एफसी चितवनबाट एनएसएल खेलेका थिए । डिफेन्डर गौतम श्रेष्ठ, मिडफिल्डरद्वय आयुश घलान र कमल थापा (तीनै जना पोखरा थन्डर्स), विराटनगर सिटीका मिडफिल्डरद्वय सुरजज्यू ठकुरी र मनीष डाँगी पनि पहिलोपल्ट राष्ट्रिय टिममा छानिए ।

विराटनगर सिटीबाट प्रभावशाली प्रदर्शन गरेका मिडफिल्डर सन्तोष तामाङ र पोखराका फरवार्ड नवयुग श्रेष्ठले पनि पुनरागमन गरे । नवयुगलाई थ्री नेसन्स कपको टिमबाट हटाइएको थियो भने सन्तोष कुवेतविरुद्ध थिम्पुमा भएको विश्वकप छनोटको खेल ९२०१९ अक्टोबर० अघि अनुशासन कारबाहीमा परेयता पहिलोपल्ट बोलाइएका हुन् । धनगढी एफसीका मिडफिल्डर पुजन उपरकोटी, बुटवल लुम्बिनीका फरवार्डद्वय आशिष लामा र सुमन लामा पनि टिममा फर्किएका हुन् ।

फरवार्ड भरत खवास, दर्शन गुरुङ, डिफेन्सका रन्जित धिमाल, अमित तामाङ, निशान खड्का, मिडफिल्डर सेसेहाङ आङदेम्बे, रवि पासवान, विवेक बस्नेत र नितिन थापा अन्तिम ३२ बाटै बाहिरिए । नेपालले कुवेतमा हुने विश्वकप छनोटमा चाइनिज ताइपेई (३ जुन), जोर्डन (८ जुन) र अस्ट्रेलिया (११ जुन) विरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले मैत्रीपूर्ण खेलमा इराक (२९ मे) विरुद्ध बासरामा खेल्ने छ ।