• पार्थ मण्डल

भद्रपुर / वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर पुरीले भारतीय नम्बर प्लेटका तीन वटा सवारीसाधन बिना कारबाही छाडेका छन् । अख्तियार अनुसन्धान आयोग, केन्द्रीय प्रहरी कार्यालय महाशाखा टंगालमा सरुवा भएका इन्स्पेक्टर पुरी आइतबार वडा कार्यालयको जिम्मेवारीबाट बिदा लिनु अगाडी ती सवारीसाधन बिना कारबाही छाडेका हुन् ।

१४ महिनादेखि बिना भन्सार सीमावर्ती नेपाली बजारमा खुलेआम भारतीय सवारीसाधन चलिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईको निर्देशनमा ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालयले संयुक्त रुपमा भारतीय सवारीसाधन नियन्त्रणमा लिने अभियान थालेका थिए ।

OM Sai Pathibhara Hospital

सोही अभियान बमोजिम वडा प्रहरीले वैशाख १८ गते नगर क्षेत्रबाट ८ वटा भारतीय नम्बर प्लेटका दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएका ती सवारीसाधन जेठ २ गते बिहान ८ बजेसम्म वडा कार्यालय परिसरमै थियो ।

तर, भद्रपुर छाडेर जान लागेपछि इन्स्पेक्टर पुरीले दीपेश साहको नम्बर प्लेट समेत नभएको मोटरसाइकल, चन्दन कामतीको मोटरसाइकल र कामतीकै भाउजुको स्कुटर छाडेपछि अहिले व्यापक चर्चाको विषय बनेको छ । अन्य पाँच वटा सवारीसाधन नछाड्ने, तीन वटा मात्रै छाडेपछि अहिले आफ्नो सवारीसाधन नछाडेका व्यक्तिले प्रहरीको कामप्रति आक्रोश पोख्न थालेका छन् । 

इन्स्पेक्टर पुरीले यसअघि पनि साहको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएर त्यत्तिकै छाडेका थिए । प्रहरीले नियम उल्लङ्घन गर्ने जुनसुकै सवारीसाधनलाई नियन्त्रणमा लिएपछि ट्राफिक  नियम अनुसार कारबाही गर्नु पर्ने कानुनी प्रावधान छ । तर, भारतीय नम्बरका गाडीलाई त्यत्तिकै छाड्ने इन्स्पेक्टर पुरी आफैले कानुनको उल्लङ्घन गरेका छन् । 

प्रहरीले सडकमा नियम उल्लङ्घन गर्ने नेपाली नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिँदा पनि ५ सय देखि एक हजारसम्म जरिवाना गराउँछ, अहिले इन्स्पेक्टर भारतीय प्लेटका गाडी कारबाही बिना छाडेकोमा स्थानीय लक्ष्मण बस्नेतले आपत्ति जनाएका छन् ।

इन्स्पेक्टर पुरी छाडेका दुई वटा मोटरसाइकल र एउटा स्कुटर रहेका छन् । उनले छाडेका सवारीसाधन सम्बन्धित व्यक्तिलाई बुझाउँदा समेतको कुनै प्रमाण वडा कार्यालयमा राखेका छैनन् । उनको मौखिक आदेशमा ती सवारीसाधन छाडिएको प्रहरीले स्रोतले जनाएको छ । बुझिलिने भन्ने कुनै कागजातमा प्रहरीले धनीलाई हस्ताक्षर नगराउँदा सवारी नम्बर खुल्न सकेन ।

उनले भने, कानुन सबैलाई बराबर लाग्नु पर्ने हो, प्रभाव र दबाबमा परेर इन्स्पेक्टरले बिना कारबाही सवारीसाधन छाड्नु हुन्न थियो । अस्थायी ट्राफिक प्रहरी भद्रपुरका इन्चार्ज दिलीप राईसँग यस विषयमा बुझ्दा उनले भने, ‘सवारीसाधन छाड्दा कुनै जरिवाना नगरेको प्रष्टाए ।’

यता प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले नियन्त्रणमा लिएका सवारीसाधन इन्स्पेक्टर पुरीले छाडेको विषयमा आफूलाई केही जानकारी नभएको बताएका छन् ।  यस विषयमा आफूले बुझ्ने उनको भनाई छ । त्यस्तै भर्खरै सरुवा भई आजै जिम्मेवारी सम्हालेका वडा प्रहरी कार्यालय भद्रपुर इन्स्पेक्टर दलकुमार राईले यस घटनाको बारेमा आफूलाई केही थाहा नभएको बताए ।