काठमाडौं(राजधानी दैनिकबाट) निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन् । ‘उपनिर्वाचनमा मतदान गर्न जाँदा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट साथमै लैजानुपर्छ, रिपोर्ट अनिवार्य छ,’ उनले राजधानीस“ग भने, ‘तथापि पोजेटिभ रिपोर्ट भएकालाई पनि मतदान गर्न पाउने व्यवस्था भने गरिएको छ ।’

OM Sai Pathibhara Hospital

आयोगका अनुसार कोरोना संक्रमित मतदाताका लागि फरक मतदान केन्द्र व्यवस्था गरिएको छ । केन्द्रमा मतदान गर्न जाने सबैले अनिवार्य फेससिल्ड, पन्जा र मास्क लगाउनुपर्नेछ ।

यसैगरी, मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिले अनिवार्य पीपीई प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कसमेत स्थापना गरिने आयोगले जनाएको छ । मतदानस्थलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग र मास्क लगाएर मात्र प्रवेश पाइनेछ ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बढीमा २५ मतदाताले मतदान गरिसकेपछि गोप्य कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायत सामग्री र मतपेटिका ‘सिल’ गर्नुअघि र मतगणना स्थलमा खोल्नुअघि अनिवार्य निसंक्रमण गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

यसैगरी, मतदानस्थलमा अनिवार्य आवश्यक उपकरणसहितको एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने प्रावधान सुरक्षा मापदण्डमा उल्लेख छन् ।

आयोगले आगामी ६ जेठमा बाग्मती प्रदेशतर्फ राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि उपनिर्वाचन सम्पन्न गर्नेगरी तयारी गरेको हो । लुम्बिनी प्रदेशतर्फ भने रिक्त एक सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन गर्नेगरी तयारी अघि बढाइएको छ ।