काठमाडौं(राजधानी दैनिकबाट) देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ ।

काठमाडौंले प्लेअफमा बिहीबार ललितपुर सिटीलाई ३–० ले पन्छाउँदै धनगढीविरुद्ध २० दिनभित्र तेस्रोपल्ट खेल्ने पक्का गरेको हो । धनगढीले लिगमा काठमाडौंलाई ३–० ले तथा र प्लेअफमा अतिरिक्त समयमा २–१ को जित निकाल्दै फाइनल यात्रा हो । यस्तो अवस्थामा धनगढी काठमाडौंमाथि ह्याट्रिक जित निकाल्दै पहिलो सिजनको एनएसएल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

OM Sai Pathibhara Hospital

विराटनगरसँग ३–० ले पराजित भएर लिगको सुरुवात गरेको धनगढीले दोस्रो खेलमा काठमाडौंलाई ३–० ले पन्छाउँदै एनएसएलमा विजयी सुरुवात गरेको थियो । लिगमा काठमाडौं पहिलो र धनगढी दोस्रो स्थानमा रहँदा सिधै फाइनल प्रवेशको लागि प्ले अफ खेल दुई घण्टा चलेको त्यो प्लेअफमा धनगढीले पछि परेको स्थिति उल्टाएर जित निकालेको थियो ।

धनगढीसँग हारे पनि काठमाडौंलाई फाइनल पुग्ने अर्को मौका थियो र त्यसमा उसले छिमेकी टिम ललितपुरलाई ३–० को सिकार बनायो । धनगढीले पहिलो प्ले अफमै जित हात पारेकाले फाइनलअघि तीन दिन आराम गर्ने मौका पाएको छ । काठमाडौंलाई एक दिनको आरामको मौका छ । धनगढीसँग ओलावाले ओलाडिपो अफिज नै मुख्य हतियार हुनेछ । तर, ह्यामस्टिङ चोटका कारण उनले पछिल्लो खेलमा सब्सिच्युट हुन परेको थियो ।

यसबाहेक टोलीसँग राष्ट्रिय टोलीका कप्तान तथा टोलीका आइकोनिक खेलाडी किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, फ्रान्कलिन कुटे टाल्ला, अशोक खवास, रुपेश केसी, निशान खड्का, सौजन राई, निशान लिम्बु, बुद्ध बल तामाङ, दर्शन गुरुङ र रमेश दंगाल टोलीमा छन् । यस्तै टंक बस्नेत, पुजन उपरकोटी, युद्ध शाही, टेकेन्द्र थापा र निराजन महर्जन टोलीमा छन् ।

यता, काठमाडौं पनि धनगढीसँगको हारको श्रृंखला तोड्दै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । धनगढीविरुद्ध मेसौके ओलुमोउ र स्टेफेन समीर नै मुख्य हतियार हुनेछ । मेसौकेले लिगमा ७ गोल गरिसकेका छन् । उनी लिगका एक्ला ह्याट्रिककर्ता हुन् । यस्तै स्टेफन समीरले ३ गोल गरेका छन् । काठमाडौंसँग कप्तान तथा मार्की खेलमडी विकेश कुथु र तेज तामाङ, विश्वास श्रेष्ठ, सुदिल राई, आशीष गुरुङ, छिरिङ गुरुङ, आशीष राई र फ्लोरेन्ट कोर्वा रहेका छन् ।

यस्तै सुदिप शिख्रकार, विश्वास उदास, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, प्रेजेन तामाङ र अमृत श्रेष्ठ टोलीमा छन् । ह्यामस्ट्रिङका कारण सन्जोक राईले खेल्ने सम्भावना न्युन छ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

के भन्छन् प्रशिक्षक र कप्तान ?

तोपे फुजा (प्रशिक्षक– धनगढी एफसी)

फाएइनल खेलका लागि उत्साहित छौं । टोलीको आत्मविश्वास निकै राम्रो छ । फाइनलमा बाजी मार्नेमा विश्वस्त छु । हामीले काठमाडौंलाई लिग र प्ले अफमा गरी दुईपटक हराइसकेका छौं । हामी विपक्षीलाई सम्मान गर्दै कमजोर नठानी आफ्नो गेम खेल्दै च्याम्पियन बन्नेछौं । केही खेलाडी घाइते भए पनि रिकभरीमा छन् । आशा छ उनीहरू फर्कनेछन् ।

किरण चेम्जोङ (कप्तान– धनगढी)

फाइनल यात्राबारे भन्नुपर्दा सुरुवाती खेल गुमाए पनि त्यसपछि लगातार जित निकाल्दै प्ले अफमा पुग्न सफल भएका छौं । काठमाडौंसँग हाम्रो तेस्रो भेट हुनेछ । सबै खेलहरू सुपर थिए । कुनै खेल सहज थिएन । लिगमा भन्दा सेमिफाइनल र फाइनलमा बढी प्रतिस्पर्धा बढ्दछ । काठमाडौं रेजर्स राम्रो टोली हो । खेल पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ । कप्तानका रूपमा मलाई राष्ट्रिय टोली र क्लबबाट जित्दाको महŒव उस्तै हुन्छ । राष्ट्र र आफूले खेलेको क्लब मेरो लागि बराबरी नै हो । कप्तानीको रूपमा क्लबबाट उपाधि जित्ने मौका आएको छ ।

बालगोपाल महर्जन (प्रशिक्षक– काठमाडौं)

काठमाडौं भइरहेको लिगमा काठमाडौं रेजर्स फाइनलमा पुगेको छ । कोभिड महामारीले देशमा निषेधाज्ञा तथा लकडाउन र ठप्प भइरहेको अवस्थामा लिग उदाहारणका रूपमा भइरहेको छ । अहिलेको अवस्था घरमै बस्नु, ट्राभल गर्न नहुने अवस्थामा छ । यसपाली ट्रफी पनि घर बाहिर जान नदिई घरमै राख्ने हिसाबले खेल्नेछौं । रह्यो कुरा लिग र प्ले अफमा हामी पराजित भयौं । त्यसको कमी कमजोरीलाई मध्यनजर गर्दै खेल्नेछौं । फेरि धनगढीसँग खेल्ने अवसर आएको छ । हार्ने मानसिकताले खेल्ने छैनौं । यो अवसरलाई गुमाउने छैनौं । आशा छ यो ट्रफी भ्यालीमै राख्नेछौं ।

विकेश कुथु (कप्तान– काठमाडौं)

लिगमा धेरै उतारचढाव आएको जित, बराबरी र हारको नतिजा निकाल्यौं । यसबाट पाठ सिक्दै फाइनलसम्म आइपुगेका छौं । जित्ने हिसाबले खेल्नेछौं । धनगढीसँगको दुई हारले पाठ सिकेको सुधार्दै खेल्नेछौं । कप्तानका रूपमा पहिलो प्रतियोगिता अझै दर्शक भएको भए राम्रो हुने थियो त्यै पनि राम्रो भइरहेको छ । कप्तानका रूपमा पहिलो उपाधि नजिक पुगेका छौं । आशा छ नतिजा सकरात्मक नै हुनेछ ।