वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधानले सबै वर्ग, भाषा, धर्म एवं संस्कृतिको अपनत्व ग्रहण गरेको बताएका छन् ।

इस्लाम धर्मावलम्बीको महान पर्व इद–उल–फितरको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

सन्देशमा भनिएको छ, ‘नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधतायुक्त देश हो । विविधताभित्र एकता नै नेपाली मौलिक पहिचान हो । नेपालको संविधानले सबै वर्ग, भाषा, धर्म एवम् संस्कृतिको अपनत्व ग्रहण गरेको छ ।

नेपालीहरु परस्परमा मिलेर चाडपर्व उत्साहका साथ मनाउने प्रचलन रहिआएको छ । यतिबेला हामी कोरोना महामारीविरुद्धको लडाइँमा छौँ । कोरोना महामारीको कारण विगतमा जस्तो गरी चाडपर्व मनाउन सकिने अवस्था छैन । तसर्थ स्वास्थ्य सुरक्षाका मापदण्डहरुको परिपालना सहित घरमै बसेर पर्व मनाउन अनुरोध गर्दछु ।’

उनले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद–उल–फितरले कोरोना विरुद्धको लडाइँमा विजय प्राप्त गर्न हामी सबैलाई थप आत्मविश्वास र उत्प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।