काठमाडौँ / अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका इस्लाम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

OM Sai Pathibhara Hospital

खुशीपूर्वक दान गरेर दीनदुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले  जानकारी दिए । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण आज बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठमा १५ जनाभन्दा बढी उपस्थित नभएको सचिव हुसेनले सुनाए । विसं २०७६ सम्म नेपाली जामे मस्जिदमा इद उल फित्रको बिहान नमाज पढ्न १०औँ हजार इस्लाम धर्मावलम्बी जम्मा हुने गरेका थिए । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले इस्लाम धर्मावलम्बीले घरमै इदुल फित्र मनाएका थिए ।

निषेधाज्ञाका कारण मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा मौलाना र कर्मचारी मात्र उपस्थित हुने भएपछि धेरै इस्लाम समुदायले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदै छन् । त्यसपछि ठूलाबडा कहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । ठूलाबडा कहाँ आशीर्वाद लिँदा पनि बन्दाबन्दीको नियम नतोडिने जामे मस्जिदले जनाएको छ । घरमै रहेका ठूलाबडासँग आशीर्वाद लिई घर बाहिरकासँग फोन, सामाजिक सञ्जालमार्फत पनि लिन सकिने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताए ।