ललितपुर / ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा  सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उनलाई शुभकामना अर्पण गरे । 

नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो जन्मदिन मनाइएको जोशीले बताए । उनले भने, “राष्ट्रमा सङ्कट परेका बेला साधारण तरिकाले अघि बढ्नु उपयुक्त हुनेछ ।” 

OM Sai Pathibhara Hospital

बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा वि.सं. १९७७ आजकै दिन जोशी ललितपुरमा जन्मिएका थिए । जोशीलाई फोनमार्फत पनि शुभकामना आइरहेको छ । आजका दिनसम्म कुनै रोगले समातिनसकेकामा आफूलाई भाग्यमानी सम्झने गरेको उनले बताए । जोशीले नेपाली भाषा, कला र  संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका छन् । 

जीवनमा तीन पटक मदन पुरस्कार, विभूषण, पदकलगायत पुरस्कार पाइसक्नु भएका जोशीले केही समय पहिले आफ्नो मुहाराङ्कित  १० रुपैयाँको हुलाक टिकट प्रकाशन हुँदा ज्यादै सन्तोष लागेको बताए ।