रुपन्देही (कान्तिपुर दैनिकबाट)  रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए ।

सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशनरप्रसारित थिए । मंगलबार साँझदेखि अभाव चर्केपछि अस्पतालका प्रशासकले मध्यरातिसम्म जिल्ला प्रशासनमा उपस्थित भएर अक्सिजन माग गरेका थिए । तर, कतै सुनुवाइ भएन ।

OM Sai Pathibhara Hospital

समस्याबारे जानकारी पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रदेशको उत्पादनका अतिरिक्त चितवन, पोखरा र विराटनगरबाट अक्सिजन रिफिल गरेर भए पनि समस्या समाधानको प्रयास जारी छ, लिक्विड पनि ल्याइँदै छ ।’ उनले भनेजस्तो तत्काल अक्सिजन व्यवस्थापन भएन ।

अक्सिजन अभावमा मंगलबार राति र बुधबार गरी १४ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको भैरहवास्थित भीम अस्पतालमा र बाँकीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

कोरोना विशेष अस्पतालको आकस्मिक कक्ष र एचडीयूमा उपचाररत बिरामीका लागि अक्सिजनको जोहो गर्न नसक्दा मंगलबार राति ४ जना, बुधबार बिहान २ जना र अपराह्न ४ बजेतिर आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु भएको छ ।

आकस्मिक कक्ष र एचडीयूमा उपचाररत ५ पुरुष र १ महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । मंगलबार अस्पताल भर्ना भएकी ७० वर्षीया महिला र २४ गते भर्ना भएका ५७ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।