काठमाडौं (राजधानी दैनिकबाट) मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एक मात्र गोलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै खुकुरी नेपाल सुपर (एनएसएल) को एलिमिनेटरमा प्रवेश गरेको छ ।

बुधबार भएको प्ले अफको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै ललितपुरले एलिमिनेटरमा काठमाडौंसँगको भेट पक्का गरेको हो । अब ललितपुरले फाइनल प्रवेशका लागि बिहीबार काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं रेजर्सले पहिलो प्ले अफमा धनगढी फुटबल क्लबसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल प्रवेशको अर्को मौका पाएको हो । धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।

OM Sai Pathibhara Hospital

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १२औं मिनेटमा अन्जन विष्टले क्रस गरेको बललाई गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दा रिवाउन्डमा डोना थापाको पोस्टनजिकैबाट बाहिरिँदा ललितपुर अग्रता लिनबाट चुक्यो । १६औं मिनेटमा डोना थापाले गल्ती गर्दा सुमन लामाले अवसर पाए पनि उनको प्रहार फितलो बन्यो । रिवाउन्डमा विमल रानाको प्रहार पोस्टनजिकैबाट बाहिरियो । २९औं मिनेटमा नुर्लानको पासमा कमल श्रेष्ठको प्रहार पहिलो बारबाट बाहिरिँदा काठमाडौं पुनः निराश बन्यो ।

३१औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा विलियम ओपोकुको हेडरलाई गोलरक्षक अर्पणले बचाए । लगत्तै ३२औं मिनेटम नुर्लानले पेनाल्टी बक्समा सुवर्ण अवसर पाए पनि प्रहार गर्न ढिला गर्दा ललितपुरले अग्रता लिन सकेन । ३३औं मिनेटमा अन्जन विष्टको प्रहारमा विशाल नै बाधक बने ।

४०औं मिनेटमा विलियम ओपोकुको वान भर्सेस वानको अवस्थाको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले बचाए पनि नियन्त्रणमा लिन नसकेको बललाई आशीष लामाले सिक्स यार्ड बक्समा अवसर पाए पनि उनको प्रहार आकासिँदा बुटवल लुम्बिनीले अग्रता लिन सकेन । ४९औं मिनेटमा डिफेन्डर विराज महर्जन र गोलरक्षक विशाल श्रेष्ठबीच तालमेल नमिल्दा विराजले दिएको ब्याकपासको फाइदा ललितपुरले उठाउन सकेन । विमल रानाले प्रयास गरे पनि विशालले जोगाए ।

६१औं मिनेटमा कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाए । पेनाल्टी एरियानजिक तीन÷चार सटिक पास खेल्दै बनेको मुभका मिक्चेन तामाङले दिएको क्रस पासलाई अन्जनले डाइभिङ हेडरमार्फत गोल गर्न सफल भएका हुन् । ६५औं मिनेटमा आशीष लामाले वान भर्सेस वानकै अवसरमा सुवर्ण अवसर पाए पनि गोलरक्षक अर्पणले डाइभ दिँदै मुस्किले क्लियर गर्दै बराबरी टारे ।

७९औं मिनेटमा ओमोलाजा नुरेन करिमको प्रहार पोलमा लागेर फर्कँदा र रिवाउन्डमा सुमन लामाको प्रहार दोस्रो बारबाट बाहिरिँदा बुटवल लुम्बिनी बराबरीबाट चुक्यो । ८५औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिक पोस्टको माथिबाट थोरै बाहिरिँदा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो । ८७औं मिनेटमा नुर्लानको पासमा एरिक विष्टले गरेको प्रहार डिफ्लेक्ट हँुदा अन्जन विष्टको प्रहार पोस्टनजिकैबाट बाहिरियो ।

ललितपुरसँगको हारसँगै बुटवल लुम्बिनी एनएसएलबाट बाहिरिएको छ । एनएसएलमा बुटवल लुम्बिनीमाथि ललितपुरको यो लगातार दोस्रो जित हो । यसअघि लिग राउन्डमा पनि ललितपुरले बुटवल लुम्बिनीलाई १–० ले पराजित गरेको थियो । एनएसएलमा भने ललितपुरको यो लगातार तेस्रो जित हो ।

लिगको सुरुवाती चार खेलमा ललितपुरले जित निकाल्न सकेको थिएन । लिगको अन्तिम खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई ४–० ले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको थियो । ललितपुरका मिक्चेन तामाङ इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । ललितपुरकै गोलरक्षक अर्पण कार्की प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजारसँगै ट्रफी हात पारे ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ सहरका ७ टोलीको सहभागिता रहेको लिगको फाइनल १ जेठमा हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।

व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।