किमाथाङ्का / सोमबार सुत्केरी बेथा लागेपछि सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । 

केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु जन्माइन् । जन्मिएको केही समयपछि सुत्केरीको रक्तश्राव हुन थाल्यो । अत्यधिक रक्तश्राव भएपछि उहाँलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइयो । 

OM Sai Pathibhara Hospital

 सदरमुकाम खाँदबारी लैजाने क्रममा सिलिचोङ ३ की उनको सोमबार राति ७ बजे मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिनुभयो । जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी –१० चन्दनपुर  आइपुगेपछि मृत्यु भएको वडाध्यक्ष तामाङले बताए । 

स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएकी कुलुङको अत्यधिक रक्तश्राव भएपछि ताक्कू प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रेफर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. भारती पण्डितले जानकारी दिए । शिशु जन्मिएदेखि नै अत्यधिक रक्तश्राव भएको र साल अड्किएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान रेफर गरिएको थियो । 

रक्तश्राव भएपछि उनलाई तत्काल रगतको चाहिने भएपछि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएकाले थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको उनका श्रीमान् बलिराम कुलुङले जानकारी दिए । 

सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी आवतजावत हुन सक्दैन । कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण श्रीमतीको बाटैमा निधन भएको बलिरामले दुखेसो पोखे । शिशुको स्वास्थ्यावस्था  सामान्य रहेको जनाइएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी तथा गर्भवतीलाई निःशुल्क उद्धार गर्ने गरे पनि दुर्गमका नागरिक अनभिज्ञ भएकाले यस्तो घटना भइरहेको छ ।