बिर्तामोड / कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको भारतको नदी किनारमा तीन दर्जन बढी शव शव फेला परेका छन् । 

भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सीमामा पर्ने गंगा नदीको किनारमा कम्तीमा ४० शव भेटिएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । तर स्थानीय सञ्चारमाध्यमले १०० वटा शव भेटिएको दाबी गरेका छन् । ती शव कैयौं दिनदेखि नदीमा बगेको अनुमान उनीहरूको छ । 

OM Sai Pathibhara Hospital

यति ठूलो मात्रामा नदी किनारमा शव भेटिनुको कारण खुलेको छैन । तर सञ्चारमाध्यमहरूले कोभिड संक्रमणबाट मृत्यु भएकाको शव हुनसक्ने आशंका गरेका छन् । अन्त्यष्टि प्रक्रिया खर्चिलो भएकाले पनि शव नदीमा बगाइदिएको हुनसक्ने स्थानीयको अनुमान छ । भेटिएका मध्ये केही शव फुलेका र केही जलेको समाचारहरूमा जनाइएको छ । 

स्थानीय अधिकारी अशोक कुमारले उत्तर प्रदेशबाट शव बगेर त्यहाँ आइपुगेको हुनसक्ने बीबीसीलाई बताएका छन् । अलपत्र भेटिएका शवलाई गाड्ने वा जलाउने उनले बताए । 

कोरोना भाइरस महामारीको दोस्रो लहरले भारतलाई गाँजेको छ । यसको संक्रमणबाट हालसम्म यहाँका २ लाख ४२ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । तर विज्ञहरू मृतकहरूको वास्तविक संख्या योभन्दा अझै बढी हुनसक्ने ठान्छन् ।