गलकोट / लामो समयको प्रयासपछि मानव सेवा आश्रम बागलुङ शाखाको आफ्नै भवन निर्माण थालिएको छ । जग्गा अभावमा भवन निर्माण गर्न नसकेको आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा सुविधासम्पन्न भवन निर्माण गर्न थालेको  आश्रमका संयोजक सुमिरा लामाले जानकारी दिए । 

स्थापना कालदेखि युनिटी लाइफले निर्माण गर्न थाली अलपत्र रहेको अस्पताललाई मर्मतसम्भार गरी अहिले बागलुङ–३ किनारा टोलबाट आश्रम सञ्चालित छ । आश्रमको आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्नका लागि शुक्रबार शिलान्यास गरिएको छ ।

OM Sai Pathibhara Hospital

आश्रमको नयाँ भवनको नगर प्रमुख जनकराज पौडेलले शिलान्यास गरेका थिए । शिलान्यासपछि नगरप्रमुख पौडेलले नगरपालिकाको पहलकदमीमा निरयघाटको गुठीको पाँच रोपनी जग्गामा  आश्रम निर्माण गर्न दिइएको जनाउँदै सडक मानवमुक्त अभियानमा नगरपालिकाको पूर्ण सहयोग रहने बताए । 

सडक मानवको उद्धार, पालनपोषण तथा आश्रय प्रदान गर्दै आएको  आश्रम २०७३ सालदेखि सक्रिय छ ।  शाखाले बागलुङसहित म्याग्दी र पर्वतका सडक मानवसमेत उद्धार गर्दै आएको छ । अहिले आश्रमको बागलुङ शाखामा ४५ सहयोगापेक्षी आश्रित छन् । 

पटकपटकको आग्रह र सबैको चासोपछि निरयघाटको जमीन नगरपालिकाको अगुवाइमा उपलब्ध गराइएको हो । पञ्चगुठीको २० रोपनी जग्गामा नगरपालिकाले कृषि क्याम्पस चलाउने योजना रहेको र पाँच रोपनी  आश्रमलाई भवन निर्माणका लागि प्रदान गरिएको नगर  प्रमुख पौडेलले जानकारी दिए । 

आश्रममा सुविधा सम्पन्न तीनतले पक्की भवनसहित अन्य गतिविधि सञ्चालनका आवश्यक संरचना निर्माण गरिनेछ । आश्रमलाई आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेश सरकारले भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त भवनसहित अन्य संरचना निर्माण गर्न सात करोड रुपैयाँ भन्दा बढी खर्च लाग्ने र प्रदेश सरकारले भवन निर्माण शुरु भइसकेपछि थप बजेट प्रदान गर्ने जनाएको छ ।