काठमाडौं / वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

वाग्मती प्रदेशबाट निर्वाचित भएकामध्ये रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो । मतदान ६ गते हुनेछ ।

OM Sai Pathibhara Hospital

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य तथा प्रदेशभित्रका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेत २३८ गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन् । विपक्षी दल कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहले संघीयताका विज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले ओली समुहले रामबहादुर थापालाई उम्मेदवार बनाउने तयारीमा छ । तर, वादलले जित्ने पक्का नभएसम्म उम्मेदवार नहुने अडान राखेपछि रामबहादुर थापाको उम्मेदवारी टुंगो लागेको छैन ।

एमालेकै माधव नेपाल समुहले डा. देवकोटालाई समर्थन गरेपछि रामबहादुर थापाको जित सुनिश्चित छैन । सोही निर्वाचनका साथै पार्टीका अन्य विषयमा समेत केन्द्रित रहेर आज एमाले अध्यक्ष केपी ओली र माधव नेपालविच वार्ता हुने एमाले नेताहरुले बताएका छन् ।