भद्रपुर / कुनै समय झापाकै सबैभन्दा धेरै पर्यटक आउने महेन्द्र पार्क अहिले नाममा मात्र सिमित भएको छ । झापाको भद्रपुर नगरपालिका वडा नं. – ८ मा रहेको महेन्द्र पार्कको स्थापना वि.सं. २०२८ मा गरिएको थियो । उक्त पार्क एक बिघा दुई कठ्ठा दश धुर क्षेत्रफलमा निमार्ण गरिएको थियो । 

सो पार्कमा मनोरञ्जन लिन, अवलोकन गर्नका लागि कयौँ संख्यामा पर्यटकहरु आउने गर्थे । तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिङ लामाको पहलमा सदरमुकामको मध्यभागमा महेन्द्र पार्क निर्माण गरिएको थियो । पार्कको बीचमा राजा महेन्द्रको मूर्ति राखिएको थियो । उक्त पार्कको मूलद्वार विभिन्न कलाकृत कुँदेर निमार्ण गरिएको थियो । मूलढोकाको सिरानीमा  ‘म मरे पनि मेरो देश बाँचिरहोस’ भन्ने सन्देश बोकेका राजा महेन्द्रकै वाणी ठूला अक्षरमा कुँदिएको अहिले पनि देख्न सकिन्छ । 

OM Sai Pathibhara Hospital

तर २०४४ को जनआन्दोलन सफल भएपछि राजाको नाममा रहेको कारण जनाउँदै यो पार्कलाई पूर्णरुपमा बन्द गरियो ।  विसं.स. २०६२ सालको दोस्रो जनआन्दोलनमा पार्क भौतिक रुपमै राजनीतिक द्वन्द्वको निशाना बन्यो । आन्दोलनकारीले पार्कको मध्यभागमा ठडिएको राजा महेन्द्रको मूर्ति तोडफोड गरे । मूर्ति मात्र होइन, त्यहाँ राखिएका सबै शिलालेख भत्काइदिए ।

वि.सं. २०६२/६३ को जनआन्दोलनका क्रममा झापाबाट सुरज विश्वास र राजन गिरीले शहादत प्राप्त गरे । उनीहरुको शालिक राखेर शहीद पार्क नामकरण गरिनु पर्ने फेरि आवाज उठ्यो । वि.सं. २०६३ मा संयुक्त जनआन्दोलन समिति झापाले शहीद पार्क नामकरण गरी विश्वास र गिरीको शालिक राख्ने निर्णय गरेको थियो  । राजा महेन्द्रको मूर्ति र शिलालेखमा सबै अक्षर नष्ट गरिएकाले अब यो ‘महेन्द्र पार्क’ जस्तो पनि रहेन । शहीदको स्मरण गराउने कुनै निशानी पनि राखिएको छैन ।

पार्कको मुख्य स्तम्भमा रहेको राजा महेन्द्रको शालिक भत्काइएपछि अहिले भग्नावशेष मात्र बाँकी छ । भग्नावशेषको फेदीमा सिंह, हात्ती, घोडा, माछा, मयूरको कलात्मक मूर्ति कुँदिएका छन् । पार्कमा केही प्रजातिका फूल फुलेका छन् जसमा दुर्लभ मानिने क्यामेलिया र डल्ले सल्लोको बोन्साई पनि रहेको छ ।

बीच भागको स्तम्भलाई जोड्ने गरी चारैतिर पानीको फोहोरा निस्कने पक्की नालीको पूर्वाधार समेत पार्कभित्र रहेको छ तर, यहाँ २०४६ सालयता पानीको फोहोरा सञ्चालनमा ल्याइएको छैन । महेन्द्रको शालिक लडाएको १३ वर्ष बिते पनि उचित व्यवस्थापन नहुँदा नयाँ बन्न सकेको छैन ।

चारै दिशामा ढोका भएको पार्कको उत्तरतर्फ सानो भवन छ जसलाई भण्डार कोठाको रुपमा प्रयोग गरिँदै आइएको छ । पूर्वतर्फ जिल्ला प्रहरी कार्यालय पर्ने भएकाले त्यहाँबाट सर्वसाधारणले आउजाउ गर्न पाउँदैनन् ।

भद्रपुर नगरका प्रमुख जीवनकुमार श्रेष्ठ भन्छन् – पार्कको स्वामित्व बोकेको भद्रपुर नगरपालिकाले नयाँ व्यवस्थापन र जीर्णोद्धार गर्ने विषयमा नयाँ सोच बनाइरहेको छ । झापाकै सबैभन्दा पुरानो पार्क भएको हुँदा यसलाई नयाँ ढङ्गले सञ्चालनमा ल्याउन योजना अघि सारिएको छ ।

पार्कको नाम नै महेन्द्र भएकोले नामाकरण तर्फ नगइ व्यवस्थापन तर्फ जान नगरपालिकाले सोच बनाइसकेको उनले बताए । प्रमुख श्रेष्ठले यसो भनिरहे पनि पार्कलाई पार्कको रुपमा लैजान ढिलाइ भइरहेको पाइएको छ ।  फूलको बगैंचा हुर्काउन, हेरचाह गर्न र बाल उद्यानको रुपमा विकास गर्न नगरपालिकाले डेढ वर्षमा १० लाख बजेट खर्च गरेको श्रेष्ठले जानकारी दिए ।

लोकतन्त्र प्राप्तीको निम्ति ०६२।६३ दुइजना व्यत्तिले सहादत प्राप्त गरेको हुदाँ सो पार्कलाई लोकतान्त्रिक स्मृति पार्क नामाकरण गर्न उचित हुने जिल्ला समन्वय प्रमुख सोमनाथ पोर्तेलले बताए । तात्कालिन दलहरुबीच नामाकरणको सहमति भएपनि कार्यान्वयनमा ढिलाइ भएको उनले बताए । पार्क भद्रपुर नगरपालिकाको स्वामित्वमा भएकोले नगरले नै टुङ्गो लगाउनु पर्ने उनको धारणा थियो ।

पार्कमा बालबालिकाले खेल्ने चार वटा चिप्लेटी, पाँच वटा पिङ, चार वटा चाकाचुली, आठ वटा फलैँचा र दुई वटा पानीबाट ओतिने पक्की टहरा नगरपालिकाले निर्माण गरेको छ । हरेक बिहान साढे ६ बजे खुल्ने यो पार्क १० बजे बन्द हुन्छ र दिउँसो २ बजे फेरि खुलेर साँझ साढे ७ बजे बन्द हुन्छ ।