किमाथाङ्का / सङ्खुवासभामा जबर्जस्ती करणी गरी फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जबर्जस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । 

दश वर्षअघि १३ वर्षीय बालिकालाई जबर्जस्ती करणीको आरोपमा फरार अधिकारीलाई विशेष सुराकीका आधारमा सुनसरीको खनारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । अधिकारीले २०६८ माघ १२ गते १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका थिए । 

OM Sai Pathibhara Hospital

फरार भएका अधिकारीलाई जिल्ला अदालत चैनपुरले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा २०७२ माघ १८ गते १२ वर्ष कैद सजाय तोकेको थियो । प्रतिवादी अधिकारीलाई आइतबार जिल्ला अदालत चैनपुर पेश गरी आइतबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

त्यसैगरी इलाका प्रहरी कार्यालय चैनपुरले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ ।  प्रहरीले चैनपुर–४ का ५३ वर्षीय तिलबहादुर तामाङलाई यही वैशाख ६ गते पक्राउ गरी कारागार चलान गरेको प्रहरी निरीक्षक खतिवडाले बताए । जिल्ला अदालत चैनपुरले २०७६ जेठ १५ गतेको फैसलाले लागुऔषध मुद्दामा चार महिना २४ दिन कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो ।