दमौली / ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादी दुई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैँटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका गुरुङविरुद्ध आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

OM Sai Pathibhara Hospital

विसं २०७७ फागुन २० गते व्यास–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोरकुमार श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग गुरुङ विरुद्ध छ । सामान्य रूपमा भएको विवादको घटनामा रिसिइवी साँधेर ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गर्दा श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजीकार्य तीव्र पारेको जनाएको छ ।