बिर्तामोड / झापाको भद्रपुरमा एक अपरिचित व्यक्तिलाई बच्चा चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति कोहुन् भनेर पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार ती अपरिचित व्यक्तिले भद्रपुर नगरपालिका ८ घोडामारा निवासी कमला टुडुलको २ वर्षीय छोरा चोर्न खोजेका थिए । घरछेउको बाटोनजिकै  पानीमा खेलिरहेका बालकलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए।

OM Sai Pathibhara Hospital

ती व्यक्तिलाई बालकका अभिभावक र गाउँले मिलेर  नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी प्रहरी कार्यालय झापा लगेको बताइएको छ।  ‘बच्चा चोर्न खोजेका व्यक्ति अन्दाजी ५० देखि ५५ वर्ष उमेरको हुनुपर्छ,’ डिएसपी थापाले भने, ‘ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन्छ, बोलेको भाषा पनि बुझिँदैन, नेपाली बोल्न पनि जान्दैनन्।‘

उनी भारतीय हुन् वा नेपाली त्यो पनि खुल्न नसकेको प्रहरीको भनाइ छ ।  ‘पीडित बालकका परिवारले अहिलेसम्म प्रहरीलाई लिखित जाहेरी नदिएकोले कारबाही प्रक्रिया अघि बढाएका छैनौँ, डिएसपी थापाले भने, ‘उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाउने छौँ।‘

स्थानीयबासीका अनुसार ती व्यक्तिलाई कसैले पनि नदेखेको र ती व्यक्ति भारतबाट बच्चा चोर्न आएको हुनुपर्ने दाबी गर्दै हदैसम्म कारबाही गर्नुपर्ने माग राखेका छन्।