बिर्तामोड / तस्करी र कर छली गर्न पल्केका झापाका कपडा व्यवसायीले स्थालमार्गमा अवरोध हुन थालेपछि हवाई मार्ग प्रयोग गर्न थालेको खुलेको छ । कर छलीमा संलग्न मानिएका भद्रपुरका व्यवसायीले झापा सदरमुकाम चन्द्रगडी स्थित विमानस्थल प्रयोग गर्न थालेको खुलेको हो ।


कर छल्न पल्केका व्यवसायीले सो विमानस्थलमा उपलब्ध निजी एयरलाईन्स यति एयरका कर्मचारी समेतलाई मिलाएर कम कार्गो भाडा तिरी यस अघि स्थल मार्गबाट हुने गरेको काम रोकेर हवाई मार्ग प्रयोग गर्न थालेको विमानस्थल स्रोतले जानकरी गराएको छ । भारतबाट भन्सार छली गरी ल्याएका कपडा विभिन्न फर्मका नाममा विल काटी विमानस्थलबाटै काठमाण्डौ पठाउने गरेको विमानस्थलका एक कर्मचारीले गुप्तचर खबर लाई जानकारी गराएका छन् । विमानस्थलमा भन्सार कार्यालय र भन्सार कार्यालयका प्रतिनिधि नरहेकाले तस्करी र कर छली गर्न पल्केका व्यवसायीलाई  महँगो भाडा तिरी हवाई मार्ग प्रयोग गर्दा पनि नाफा हुने भएकाले उनीहरुले हवाई मार्ग प्रयोग थालेको ति कर्मचारीको भनाई छ ।

OM Sai Pathibhara Hospital

 सरकारले एक ठाउँबाट अर्को ठाउँमा बस्तु तथा सामान ओसार पसार गर्नु पुर्व ढुवानी हुने बस्तु तथा स्थान समेतको विवरण केन्द्रिय सुचना प्रणालीमा उल्लेख गर्नु पर्ने व्यवस्था गरेपछि भद्रपुरबाट काठमाण्डौ स्थलमार्ग हुँदै भारतीय लत्ता कपडा पठाउँदै आएका व्यवसायीले हवाई रुट प्रयोग गर्न थालेको विमानस्थल स्रोतले बताएको छ । मालबस्तुको ओसार पसार तथा ढुवानीमा भिटिएस प्रणाली लागु भएपछि कर छल्न पल्केका कपडा व्यवसायीले महँगो कार्गो भाडा तिरी हवाई रुट प्रयोग गर्न थालेका हुन् ।

सामान्यतया स्थलमार्गबाट लत्ता कपडा काठमाण्डौ पठाउँदा प्रति केजी सरदर ५ रुपैंया ढुवानी भाडा लाग्ने गरेको भएपनि प्रति केजी १०० रुपैंया भाडा लाग्ने हवाई मार्ग प्रयोग गर्न थालेको सुचना पाएपछि राजश्व अनुशन्धान विभागको केन्द्रिय कार्यालयले काठमाण्डौ विमानस्थल स्थित यति एयरलाईन्सको कार्गो गोदाममा छापा मारी भद्रपुरबाट गएका सामान बरामद गरेको विभाग स्रोतले जानकरी गराएको छ ।

स्रोतले झापाको अमित ईन्टरप्राईजेजको नाममा यति एयरलाईन्स हुँदै वैसाख यता विभिन्न मितिमा काठमाण्डौ लगिएका लत्ता कपडा बरामद भएको जानकारी गराएको छ । विभागले यतिको कार्गो गोदामबाट एकै दिनमा भारतबाट ल्याईएका गन्जी ११८ थान, लेडिज टप्स ७९१ थान, लेडिज कुर्ता ९८ थान र सारी ५५ बरामद गरेको स्रोतको भनाई छ ।

अमित ईन्टरप्राईजेजका नाममा काठमाण्डौ पठाईएका सामानको विल विजक भने फर्मका नाममा नभई व्यक्तिका नाममा काटिएको स्रोतको भनाई छ । अमित ईन्टरप्राईजेजले व्यक्तिका नाममा गत वैषाख ४,५ र ६ गते यति एयरलाईन्सबाट काठमाण्डौ पठाएको लत्ता कपडा यतिको कार्गो गोदामबाट बरामद गरी छानविन अघि वढाईएको राजश्व अुनशन्धान विभागले समेत पुष्टि गरेको छ ।

विभागका प्रवक्ता शिवलाल तिवारीले अमित ईन्टरप्राईजेजका संचालकले सो फर्म सहित उनले नै चलाउने गरेका अन्य केहि फर्मको नामबाट करछली गर्नका लागि व्यक्तिका नाममा विल काटी यति एयरलाईन्सबाट नियमित रुपमा भारतीय लत्ता कपडा काठमाण्डौका ठुला कपडा व्यवसायीकोमा पठाउने गरेको सुचना आएपछि छामा पारी अनुशन्धान थालेको जानकारी गराएका छन् ।

सामान आयात भएको ठाउँ , स्थान र खरिद गर्ने फर्म समेत उल्लेख नगरेको पाईएकोले शंकास्पद देखिएपछि छानविन अघि वढाईएको तिवारीले बताएका छन् । उनले अमित ईन्टरप्राईजेजका संचालकको खोजी भईरहेको भएपनि फेला नपरेकाले उनलाई समेत विभागमा उपस्थित हुन आदेश सहित पत्राचारको तयारी भईरहेको समेत जनाएका छन् । बरामद सामान र फर्म छानविनका क्रममा रहेकाले बरामद सामानको पुर्ण विवरण भने दिन नमिल्ने तिवारीले बताएका छन् ।