रुकुमपूर्व / रुकुम(पूर्व)को पुथाउत्तरगङ्गा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । चौधवटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकालाई सात–सातवटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो । 

भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ । नागरिकको सहजताका लागि उनीहरुकै माग र सल्लाह सुझावअनुसार गाउँपालिकालाई टुक्र्याएर दुईवटा बनाउने निर्णय गरिएको हो ।

OM Sai Pathibhara Hospital

गाउँसभाले पारित गरेको पुथा गाउँपालिकामा हालको १ देखि ६ सम्मका वडा र ९ नं वडालाई मिसाउने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल)ले जानकारी दिए । उनका अनुसार उत्तरगङ्गा गाउँपालिकामा ७ र ८ नं वडासँगै १० देखि १४ नंसम्मका वडाहरु रहनेछन् । 

यस्तै १२ नं वडामा रहेको जाजरबाङ गाउँलाई १३ नं वडामा मिलाउने प्रस्ताव पनि पारित भएको छ । सिस्ने गाउँपालिका १ र २ नं वडाले छुट्टै गाउँपालिका प्रस्ताव गरेमा पुथाउत्तरगङ्गा गाउँपालिकाको ७ र ८ नं वडालाई त्यसमा मिलाएर एउटा गाउँपालिका बनाउने प्रस्तावलाई पनि गाउँसभाले पारित गरेको उपाध्यक्ष मल्लले बताए ।

गाउँसभाबाट दुईवटा गाउँपालिका बनाउन भनेर पारित गरेको निर्णयलाई स्वीकृतिका लागि जिल्ला समन्वय समितिमार्फत प्रदेश हुँदै सङ्घमा सिफारिस हुने कानूनी प्रावधान रहेको छ । स्थानीय तहलाई हेरफेर गर्नुपरेमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि गाउँसभाबाट प्रस्ताव पारित भएको हुनुपर्ने प्रावधान छ । सोहीअनुरुप पुथाउत्तरगङ्गा गाउँपलिकालाई दुई टुक्रा बनाउने निर्णय गाउँसभाबाट पारित गरेको जनाइएको छ ।

अहिले रुकुम(पूर्व)मा सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गरेर जम्मा तीनवटा गाउँपालिका रहेका छन् । स्थानीय तहको हिसाबले हेर्न हो भने रुकुम(पूर्व) सबैभन्दा सानो जिल्ला हो ।