काठमाडौं / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका अनुसार पोखरेलले आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको हुन् ।
आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुन एक दिनअघि उनले आइतबार बिहान राजीनामा दिएका हुन् । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले आफूले राजीनामा दिएको उनले बताएका छन् ।
पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।
लुम्बिनी सभामा आइतबार अविश्वासको प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुंग्याउने गरी तयारी थियो । मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल उथलपुथल बनेको छ ।