दमौली / सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा तनहुँका १८ जनाले ठगिएको रकम फिर्ता पाएका छन् । वैदेशिक रोजगारको सिलसिलामा ठगिएकाहरूलाई सामी परियोजनाको पहलमा रकम फिर्ता गरिएको हो । 

चालु आर्थिक वर्षको असारदेखि हालसम्म १८ जनाले आठ लाख ७० हजार रुपैयाँ रकम फिर्ता पाएको परियोजनाका जिल्ला संयोजक लुना रानाले जानकारी दिए । यस अवधिमा व्यास नगरपालिकाका चार लाख रुपैयाँ, म्याग्दे गाउँपालिका भित्रका चार लाख ४० हजार रुपैयाँ र अन्य स्थानीय तहकालाई ३० हजार रुपैयाँ रकम फिर्ता गरिएको छ । 

OM Sai Pathibhara Hospital

चालु आर्थिक वर्षमा आप्रवासन केन्द्रमा ९२ वटा मुद्दा परेका छन् । त्यसमध्ये व्यास नगरपालिकाका ३१, भानु नगरपालिकाका सात, शुक्लागण्डकी नगरपालिकाका १६, म्याग्दे गाउँपालिकाका २१ र अन्य स्थानीय तहका १७ मुद्दा छन् । आप्रवासन केन्द्रमा परेका उजुरीका आधारमा उनीहरूलाई रकम फिर्ता गराउन पहल गरिएको रानाले जानकारी दिए । 

“पीडित पक्षले मुद्दा दर्ता गराएपछि ठगी गर्नेलाई सम्पर्क गर्छौँ, प्रशासनको समेत सहयोग प्राप्त भएपछि ठगी गर्नेहरू डराएर पैसा लिएर आउने गरेका छन्”, उनले भने, “विदेश पठाइदिन्छु भनेर १८ लाख रुपैयाँ सम्म ठगी गरेको मुद्दा पनि आएको छ ।” 

परियोजनाकै पहलमा विदेशमा मृत्यु भएका, अङ्गभङ्ग भएकालाई ७८ लाख ७४ हजार ८ सय २८ रुपैया क्षतिपूर्ति वितरण गरिएको छ । व्यास नगरपालिका भित्रकालाई २७ लाख ६७ हजार ३ सय ५ रुपैया, शुक्लागण्डकी नगरपालिका भित्रकालाई १२ लाख ७२ हजार ४ सय ४२ रुपैया, म्याग्दे गाउँपालिका भित्रकालाई छ लाख १९ हजार ८१ रुपैया र अन्य स्थानीय तहकालाई ३१ लाख ३६ हजार रुपैया क्षतिपूर्ति उपलब्ध गराइएको रानाले जानकारी दिए । 

कोभिड सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीको अवधिमा ५३ जनालाई विभिन्न देशबाट उद्धार गरिएको छ । त्यसमध्ये व्यास नगरपालिकाका सात, भानु नगरपालिकाका ११, शुक्लागण्डकी नगरपालिकाका ११, म्याग्दे गाउँपालिकाका ११ र अन्य स्थानीय तहका १३ जना छन् । 

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा यो परियोजना सञ्चालित छ । परियोजनामार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा आप्रवासन केन्द्र स्थापना गरिएको छ । आप्रवासन केन्द्रमा दुई परामर्शकर्ता खटाइएको छ । 

हालसम्म उक्त केन्द्रबाट दुई हजार ८३१ लाई परामर्श दिइएको छ । त्यस्तै ८१ जनालाई सीप तालिम सिफारिश गरिएको छ भने ७०३ को रिटर्नी सीप परीक्षण तथ्याङ्क सङ्कलन गरिएको छ । साथै यस अवधिमा ६१ जनालाई मनोसामाजिक परामर्श, ५६ लाई क्वारेन्टिनमै परामर्श र ६४ लाई आइसोलेशनमा परामर्श सेवा प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना अभिवृद्धि गर्नेजस्ता काम केन्द्रबाट प्रदान गरिन्छ । 

नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास ९स्वीस इन्टर कोअपरेशनसको प्राविधिक सहयोगमा स्थानीय तहबाट कार्यान्वयन हुने तेस्रो चरणको सुरक्षित आप्रवासन ‘सामी’ परियोजना सञ्चालनका लागि जिल्लामा ग्रामीण सशक्तीकरण समाजले उक्त परियोजना सञ्चालन गर्दै आएको छ । 

परियोजनाका लागि श्रम तथा रोजगार मन्त्रालयले चार स्थानीय तहका लागि ७४ लाख ९७ हजार रुपैया बजेट उपलब्ध गराएको थियो । परियोजनाका लागि चारवटा स्थानीय तहमा २४ कर्मचारी खटिएका छन् । व्यास नगरपालिकामा नौ, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा पाँच÷पाँच कर्मचारी परियोजनाअन्तर्गत खटिएका छन् ।

परियोजना सञ्चालनपछि वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुष आफ्नो वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा जानकार भएको परियोजनाका अध्यक्ष एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । नेपालका ३९ जिल्लामा यो परियोजना लागू भएको छ । वार्षिक पाँच हजारभन्दा बढी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने जिल्ला छनोट गरी परियोजना सञ्चालन गरिएको बताइएको छ ।