बिर्तामोड / मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित समाधिस्थल भत्काएको विषयमा विवाद भएको छ । 

किरात समुदायले प्रयोग गर्दै आएको सो सामूहिक समाधिस्थल डोजर लगाएर भत्काइएपछि विवाद उब्जिएको हो । लिम्बु, राईलगायत किरात समुदायले पचास वर्षदेखि प्रचलनमा ल्याएको सो समाधिस्थल बुधबार नगरपालिकाले डोजर प्रयोग गरेर भत्काएकोमा उनीहरुले विरोध जनाएका हुन् । 

OM Sai Pathibhara Hospital

नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङले यो घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको बताउँदै बिनाशर्त पुनःस्थापनाको माग गरेका छन् । मेची पुलको दक्षिणपट्टी पाँच कठ्ठा जग्गामा रहेको सो समाधिस्थलमा २०० भन्दा बढी चिहान छन् । पितृका नाममा राखिएका शिलास्तम्भहरु भताभुङ्ग बनाइएकोमा स्थानीय किरात समुदाय भावविह्वल बनेको उनले बताए । धार्मिक संस्कार र पितृसँगको भावनात्मक नाता गाँसिएको पवित्र समाधिस्थल भत्काइएपछि आक्रोशित बनेका महिला र वृद्धवृद्धासहित किरात समुदायको ठूलो सङ्ख्या बिहीबार विरोध पत्र बुझाउन नगरपालिका पुगेको थिए ।

नगरप्रमुख विमल आचार्यलाई विरोध पत्र बुझाउँदै किरात राई यायोक्खा झापाका सचिव केवलराम राईले वर्षौदेखि किरात समुदायले बनाएको समाधिस्थल तथा उनीहरुको आस्थाको केन्द्र नगरपालिकाले भत्काएकाले तत्काल त्यसको पुनःनिर्माण गर्नुपर्ने बताए । धार्मिक आस्थामाथि प्रहार तथा जातीय विभेद् हुँदा स्थानीय सरकारले न्याय नदिएमा त्यसकाविरुद्ध चरणबद्ध आन्दोलन र कानूनी उपचारमा जाने उनले बताए । 

सो अवसरमा नगरप्रमुख आचार्यले नगरपालिकाले समाधिस्थल नभत्काएको बताउँदै यस विषयमा आवश्यक अध्ययन अनुसन्धान गरी वास्तविकता वाहिर ल्याउने र समस्याको समाधान खोजिने प्रतिबद्घता व्यक्त गरे । ‘‘सशस्त्र प्रहरीको बीओपी स्थापनाका लागि सरसफाई गर्न डोजर पठाइएको थियो, हामीले समाधिस्थल भत्काउनु भनेका थिएनौं’’, उनले भने, ‘‘सशस्त्र प्रहरीले नै भत्काएका हुन्, छलफल गर्दैछौं ।’’ समाधिस्थल भत्किएको घटनाले आफू दुःखी भएको बताउँदै उनले अब त्यही स्थानमा पितृको स्मृतिमा पितृस्तम्भ र पार्क निर्माण गर्न सकिने विकल्पका बारेमा छलफल भइरहेको उल्लेख गरे । 

सशस्त्र प्रहरी बल २ नं. गण झापाका गणपति रमेशकुमार पाण्डेले किरात समुदायको पवित्र एंवम् धार्मिक भावनासँग जोडिएको समाधिस्थल सशस्त्र प्रहरीले नभत्काएको दाबी गरे । ‘‘काँकडभिट्टामा बीओपी भाडामा बसिरहेका स्थानमा भ्यूटावर निर्माण हुने भएपछि दीगो व्यवस्थापनका लागि नगरपालिकासँग जग्गा मागेका थियौं’’, सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले भन्नुभयो, ‘‘बीओपीका लागि मलामीघर प्रयोग गर्न नगरपालिकाले अनुमति दिएको थियो । मलामीघर वरपर सरसफाई गर्न नगरपालिका आफैले पठाएको र खटाएको डोजरले समाधिस्थल भत्काएको रहेछ । यसमा हाम्रो कुनै दोष छैन ।’’

खोलाखोल्सा र डाँडापाखामा पाल टाँगेर बस्दै आएको सशस्त्र प्रहरीले कहिले पनि समुदायको धार्मिक आस्थामाथि आघात पु¥याउने काम नगर्ने उनको भनाइ छ ।