चितवन / नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय प्रावधान अनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ ।
कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन् । नयाँ र पुराना गरी २७ हजार ८३३ क्रियाशील सदस्य सिफारिश गरिएको उनले बताए ।
गएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ जिल्लाका तीन निर्वाचन क्षेत्रमा नेपाली कांंग्रेसले ९३ हजार मत प्राप्त गरेको थियो । श्रेष्ठका अनुसार झापा र काठमाडौँपछि सबैभन्दा बढी क्रियाशील सदस्य रहेको जिल्ला चितवन हो ।