बलेवा / सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ । सङ्घीय र प्रदेश सरकारको समपूरक बजेट परिचालनबाट सञ्चालन भएको योजनामा बचेको रकम पालिका मुकाम कुश्मीशेरा बजारको सुधार विस्तारमा लगाइएको हो ।

समपूरक बजेटमा साझेदारी गरेर नगरपालिकाले कालीगण्डकी करिडोर जैमिनीधामदेखि  पालिका मुकाम कुश्मीशेरा बजारसम्मको सडक स्तरोन्नतिको काम गरिरहेको छ । बहुवर्षे यो योजनाका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन भएको थियो ।

OM Sai Pathibhara Hospital

सङ्घीय सरकारको ८७ लाख, गण्डकी प्रदेश सरकारको ५० लाख र नगरपालिकाको रु ६७ लाख गरी दुई करोडमा यो सडक स्तरोन्नति भइरहेको छ । टेन्डर प्रक्रियामा सहभागी भएको निर्माण कम्पनीले कूल बजेटबाट छोडेको  ७४ लाख रुपैयाँ पुनः प्रयोगमा ल्याइएको नगरपालिकाका इन्जिनीयर विवेक सापकोटाले बताए । 

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने कुश्मीशेरा बजार कालोपत्र सडकले टल्किनेछ । बजारभित्रको १४५ मिटर सडक ढलान गर्ने र ३०० मिटर सडक कालोपत्र गर्ने काम भइरहेको सापकोटाले बताउनुभयो । सडक विभागको मापदण्ड अनुसार पाँच दशमलव पाँच मिटर चौडा सडक कालोपत्र हुनेछ । 

बजार क्षेत्रको सबै सडकमा नाली निर्माण हुने भएकाले अब भने वर्षामा हिलाम्मे हुने समस्या समाधान हुने स्थानीयवासी विष्णु आचार्यले बताए । निकै साँघुरो रहेको कुश्मीशेरा बजारमा सडक बनाउनका लागि स्थानीयवासीले पुराना संरचना भत्काएका छन् । “एउटा घर भत्काउनका लागि अन्तिम सूचना टाँस भएको छ, बाँकी सबैले सडक फराकिलो बनाउन सहयोग गर्नुभयो”, सापकोटाले भने, “आगामी असारसम्म काम सकिँदा त्यो घर पनि पन्छाएर सडक बनाउँछौँ ।” 

जैमिनीमा दुई वर्ष पहिलेसम्म कालोपत्र सडक थिएन । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत बागलुङ कुश्मीशेरा सडकको १।६ किलोमिटर खण्ड पक्की भएपछि जैमिनीले कालोपत्र सडक पाएको थियो । शेराबजारमा भइरहेको कालोपत्रको काम सकिँदा जैमिनी नगरभरि झण्डै तीन किलोमिटर सडक कालोपत्र हुनेछ ।