रोल्पा / सोमबारदेखि रोल्पाको नुवागाउँबाट सुरु भएको भीषण आगलागीबाट पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । त्रिवेणी–२ नुवागाउँस्थित सामुदायिक वनबाट फैलिएको आगो दुई दिनपछि पिराले पुग्दा पनि नियन्त्रणमा आइसकेको छैन ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुधबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले भने, ‘पूरै गाउँ शोकमग्न छ । यहाँका सबै घर ९२५ घर० आगोमा परेर जलेका छन् । मानिसहरुको घर र सम्पत्ति सबै खरानी भएको छ ।’
तीन दिनदेखि लागेको आगो नियन्त्रणमा लिन स्थानीयले भरमग्दुर प्रयास गरे पनि सकेका थिएनन् । ‘आगो निभाउन खोज्दा पनि बेस्सरी हावा लागेकाले सम्भव भएन,’ स्थानीय ईश्वरी घर्तीमगरले भनिन् । एक जंगलबाट फैलिएको आगो त्यसपछि दर्जन सामुदायिक वनमा फैलिएको छ । त्रिवेणीबाट फैलिएको आगो छिमेकी गाउँपालिका रुन्टीगढीसम्म फैलिएको छ । हालसम्म गोठसहित ४० वटा घर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगोमा परी १६ वटा बाख्रा, ७ वटा गाई, १ वटा बंगुर जलेर मरेका छन् । आगोले खानेपानीका पाइप र बिजुलीका तारसमेत जलेर नष्ट भएको छ ।
सबैभन्दा बढी क्षति पुगेको पिराले गाउँमा प्रजिअ, गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि र रेडक्रसका प्रतिनिधि राहत लिएर घटनास्थल पुगेका छन् । निरन्तर आगलागी भएकाले गाउँभरी धुँवा र तुँवालो फैलिएको छ । आगलागी पीडितको उद्धार गर्न र आगो नियन्त्रण गर्न स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । प्रहरीका अनुसार तीन दिनभित्र २ सय हेक्टरभन्दा बढी क्षेत्रमा आगो फैलिएको छ ।
साविकको नुवागाउँ–१ धानबाङबाट आगो सल्किएको थियो । बुधबार बिहानसम्म आगो रुन्टीगढी गाउँपालिकाको सखी गाउँनजिक पुगेको छ । अहिलेसम्म मानवीय क्षति भएको छैन । आगो धानबाङ हुँदै सानो चेत्रे, कापडाँडा, पिराले, पिउरीसम्म फैलिएको छ । नियन्त्रणबाहिर रहेको आगो रुन्टीगढी गाउँपालिकाको सखी, गुनाम, करेटी र सर्पालतर्फ फैलिरहेको छ ।
आगो नियन्त्रणमा लिन नसके ह्याङ, करेटी, गुनाम, सखी र सर्पालमा रहेका कम्तीमा १ सय घर उच्च जोखिममा छन् । दहवन र रामपुर गाउँ पनि जोखिममा छन् । गुनाम गाउँ नजिकै आगलागी भइरहेकाले नियन्त्रणमा लिन चुनौती देखिएको पत्रकार पहलमान घर्तीमगरले बताए ।