जाजरकोट / कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन्  । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा भारतबाट सर्वसाधारण जाजरकोट पुगेका छन् । 

प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क लगाऔँ’ जस्ता नारा लगाएर बजार परिक्रमा गरे पनि अन्य कुनै पनि निकायले सतर्कता अपनाएको देखिँदैन । जिल्ला अस्पतालमा समेत दुई शय्याको आइसोलेसनबाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन । ठाउँको अभावमा आइसोलेसन बनाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवन भत्काउँदा व्यवस्थापनमा समस्या भएको हो । अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन । दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ । 

OM Sai Pathibhara Hospital

सङ्क्रमितको सङ्ख्या बढ्दै

जाजरकोटमा विगत दुई दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा मात्र सङ्क्रमितको २० नाघेको छ । कोरोना जाँचका लागि आएकामध्ये ८० प्रतिशतलाई कोरोना देखिएको छ । भारत तथा अन्य ठाउँबाट आएका सयौँ सर्वसाधारणको जाँच गर्न बाँकी रहेकाले अझै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएको हुनसक्ने कार्यालयले जानकारी दिएको छ ।