बिर्तामोड (राजधानी दैनिकबाट) सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।

एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टीकरण सोधिएको थियो । ती सांसदले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा फ्लोर क्रस गर्ने भन्ने अनुमानसहित केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्दै कारबाहीको जिम्मेवारी स्थायी कमिटीलाई दिएको हो ।

OM Sai Pathibhara Hospital

कारबाही गरिने सांसदको नाम र सूची टुंग्याउने जिम्मा प्रधानमन्त्री ओली र स्थायी कमिटी सदस्यलाई दिने निर्णय गरिएको छ । एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुन सक्नेबारे सूक्ष्म अध्ययन गर्दै यस्तो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार ककसलाई कारबाही अघि बढाउने भन्ने प्रस्ताव तयार गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ । प्रवक्ता ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताए । केन्द्रीय कमिटीको बैठकले हाल कारबाहीसम्बन्धी कुनै निर्णय नगरेको उनले बताए ।

‘सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने देखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं । त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौं,’ बैठकपछि ज्ञवालीले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यले आवश्यक परेको बेला निश्चित संख्याका सांसदमाथि कारबाही गर्ने विषयमा वैधानिक बाटो अख्तियार गरिनेछ ।

कारबाहीका लागि निर्णय भइसकेको बताउँदै उनले कारबाहीमा पर्नेको संख्या र नामको अन्तिम टुंगो भने पछि लाग्ने बताए । अकस्मात कारबाही गर्नुपर्ने अवस्था आएको खण्डमा दोहो(याएर केन्द्रीय सदस्यहरूलाई बोलाउनु नपर्नेगरी आवश्यक तयारी पूरा गरेर आफू फर्किएको उनले बताए । केही शीर्ष नेताबाहेक अरूलाई कारबाही गर्नुभन्दा पनि आफ्ना पक्षमा ल्याउने कसरतमा बालुवाटार अझै सक्रिय रहने बताइएको छ ।

सो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुन सक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने ओलीले बताए ।

‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्तालाई कोभिड–१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी गराउनुभयो,’ प्रवक्ता ज्ञवालीले भने ।