बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ । विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास निर्माण भइरहेका छन् ।
त्यसैगरी ललितपुरको भैँसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालय निर्माण भइरहेको छ । ललितपुरकै गोदावरीमा तीन हजार व्यक्ति क्षमताको सभाहल निर्माण भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित मन्त्रालय र निकायबाट बारम्बार हुने गरेको अनुगमन, प्रगति समीक्षा तथा सहजीकरणका कारण विशेष भवनको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले अहिलेसम्म यी भवन निर्माणमा दोस्रो चरणको कोभिड–१९ को महामारीको प्रभाव नपरेको स्पष्ट पार्नुभयो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख दिलीपशेखर श्रेष्ठका अनुसार प्रधानमन्त्रीको सरकारी आवास निर्माण माघसम्मको समष्टिगत भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । उहाँले निर्माणाधीन दुई भवनमध्ये प्रधानमन्त्रीको निवास साउनसम्म निर्माण गरी प्रधानमन्त्री निवास स्थानान्तरण गर्ने जानकारी दिँदै अर्को निर्माणाधीन सार्वजनिक भवन दशैँसम्म निर्माण सम्पन्न हुने बताउनुभयो ।
गोदावरीमा निर्माणाधीन सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ । उहाँले यसको मुख्य निर्माणको काम सम्पन्न भइसकेको छ र साजसज्जा, रङरोगन, हरितीकरणलगायतका काम मात्र बाँकी रहेको जानकारी दिनुभयो । वैशाखको दोस्रो हप्तासम्म यस सभाहलको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ । उहाँका अनुसार जेठको पहिलो हप्तामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस सभाहलको उद्घाटनको तयारी भइरहेको छ ।
त्यसैगरी सङ्घीय संसद् भवनको भौतिक प्रगति २८ प्रतिशत रहेको बताउनुभयो । अहिले संसद् भवन निर्माणमा करिब चार सय जना जनशक्ति कार्यरत छन् ।
कार्यालय प्रमुख श्रेष्ठले सङ्घीयमन्त्री आवास निर्माणको भौतिक प्रगति ५५ प्रतिशत, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालयको निर्माण प्रगति ५५ प्रतिशत रहेको बताउनुभयो ।
कोभिड–१९ को महामारीको पहिलो चरणको प्रभावका कारण लक्ष्य पूरा नसकेको निर्धारित समयमा नै काम सम्पन्न हुने र आगामी निर्वाचनअगावै मन्त्री निवास पुल्चोकबाट भैँसेपाटी स्थानान्तरण गरिने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
कोभिड–१९ को महामारीसँगै सुरु भएको बन्दाबन्दीका कारण जनशक्ति र निर्माण सामग्री समयमा उपलब्ध हुन नसक्दा एक वर्षको लक्ष्य हासिल हुन नसकेको हो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सङ्घीयमन्त्री निवास निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबीच २०७६ कात्तिक २७ गते सम्झौता भएको थियो । करिब एक अर्ब ३४ करोड रुपियाँको कुल लागतमा यो आवास क्षेत्रको निर्माण भइरहेको छ ।
त्यसैगरी प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ असोज २७ गते निर्माण सम्झौता भएको थियो । यस आवास क्षेत्र निर्माणको कुल लागत ७३ करोड ४७ लाख रुपियाँ रहेको छ ।
मन्त्री आवास क्षेत्र निर्माणको जिम्मा पाएका निर्माण कम्पनी स्रिको–हनुमान ९जेभी०का अनुसार निर्माणाधीन कुल २७ वटा भवनमध्ये २० वटा भवनमा पहिलो तलाको काम, ११ वटा भवनमा दोस्रो तलाको काम र दुईवटा भवनको तेस्रो तलाको
काम सम्पन्न भइसकेको छ । कुल ९६ रोपनी १० आना क्षेत्रफलमा मन्त्री आवास क्षेत्रको निर्माण भइरहेको छ ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण कुल २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास क्षेत्र निर्माण भइरहेको छ ।
सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा भवन निर्माण भइरहेको छ ।