बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक भएको छ । 

२०७७ साल असार २२ गतेदेखि साविकको आरम्भ लघुवित्त र चौतारी लघुवित्त मर्जरपछि एक भएर आरम्भ चौतारी लघुवित्तको नाममा कारोबार शुरु गरेका हुन् । मर्जरपछि कम्पनीको वित्तीय विवरण अझै मजबुत भएको देखिन्छ । 

OM Sai Pathibhara Hospital

यस वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले रू. ७ करोड ८३ लाख ३६ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिभन्दा २ दशमलव ९१ गुणा बढी हो । गत वर्ष कम्पनीले यो अवधिमा रू. २ करोड ६८ लाख ६८ हजार खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीले रू. ३७ करोड ६४ लाख खराब कर्जा उठाएको छ । गत वर्षभन्दा २ दशमलव ८५ गुणा बढी सञ्चालन मुनाफा बढेकाले पनि यो वर्ष कम्पनीको खुद मुनाफामा वृद्धि भएको हो । गत वर्ष रू. ४ करोड २२ लाख २२ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष रू. १२ करोड ५ लाख ७८ हजार यो मुनाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड ६७ लाख ६३ हजार पुगेको छ । जगेडा कोष रकम रू. १२ करोड ४२ लाख ५ हजार छ । गत वर्षभन्दा ८४ दशमलव ९० प्रतिशत बढी रू. १ अर्ब १७ करोड ८६ लाख ९१ हजार निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष १२३ दशमलव ८४ प्रतिशत बढी रू। ३ अर्ब ९० करोड ६६ लाख ४६ हजार कर्जा प्रवाह गरेको छ । 

कम्पनीले यस वर्ष विभिन्न संघ संस्थाहरुबाट गत वर्षभन्दा १५८ प्रतिशत बढी रू. २ अर्ब ४३ करोड १५ लाख ६१ हजार कर्जा सापटी लिएको छ । गत वर्ष यो अवधिसम्म २ दशमलव ५३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा अनुपात यो वर्ष ३ दशमलव ६५ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ४२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. १४३ दशमलव ३१ रहेको छ ।