बिर्तामोड(एजेन्सी) भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या साढे तीन लाख पुग्न लागेको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन् ।   

यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६ सय २४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । 

OM Sai Pathibhara Hospital

यो सँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५ सय ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

कुल सङ्क्रमित मध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ । 

त्यसैगरी अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा गत  जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।