बिर्तामोड ( गोरखापत्र दैनिकबाट) काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपालभाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ । जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो ।    

    अहिले सम्झौता गरिएका सबै शिक्षकलाई आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन सामुदायिक विद्यालयमा खटाइने बताइएको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप महानगरले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राखेको हो ।    

OM Sai Pathibhara Hospital

    सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरिएको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ । महानगरपालिकाका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ शिक्षक महानगरले आफ्नै स्रोतसाधनबाट राखेको हो । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहनेछ ।    

     यसै शैक्षिकसत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको सो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक, विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीनसम्म शिक्षक राख्ने महानगरपालिकाको तयारी छ । हाल विश्वभरि फैलिएको कारोनाका कारण भौतिक उपस्थितिमा भने कक्षा सञ्चालन हुन सकेको छैन ।    

     नेपालमा लिच्छवीकालबाटै नेपाल भाषाकोे प्रयोग हुन थालेको भए पनि मल्लकालमा यस भाषालाई राजकीय भाषाका रूपमा प्रयोग गरिएको नेपाल भाषा केन्द्रीय विभागका प्राध्यापक शरदवीर कंशाकार बताउनुहुन्छ । पछिल्लो समय काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र वाग्मती प्रदेशका १२ जिल्लामा यस भाषाको प्रयोग हुने गरेको प्राध्यापक कंशाकारको भनाइ छ ।    

    कामपाले स्थानीय पाठ्यपुस्तक नै बनाएर अनिवार्यरूपमा पठनपाठनको तयारी गर्नु उल्लेखनीय काम भएको उहाँको भनाइ छ । पठनपाठनमा यस विषयलाई छनोट गर्नुले नेवार समुदायमा रहेका संस्कार, संस्कृतिका बारेमा जानकारी लिन नयाँपुस्तालाई ठूलो सयोग पुग्ने प्राध्यापक कंशाकारले बताउनुभयो ।