बिर्तामोड / सोमवार बसेको मन्त्री परिषदको वैठकले गरेका निर्णयको मंगलार प्रधानमन्त्री आफैंले अवज्ञा गरेर सरकारी निर्णयको धोती लगाउने काम गरेका छन् । सोमवारको वैठकले नागरीकको स्वास्थ्यलाई मध्यनजर गर्दै गरेका महत्वपुर्ण निर्णयलाई प्रधानमन्त्री आफैंले अवज्ञा गरेपछि ति निर्णय कार्यान्वयनमा समेत समस्या खडा भएको छ ।

नागरीकले सरकारी निर्णयको अवज्ञा गरेको पाईए कारवाही गर्ने आदेश दिएको सरकारका प्रमुखले नै आफैंले गरेको निर्णयको अवज्ञा गरिदिएपछि उनीमाथि कारवाही कसले गर्ने अव भनेर नागरीक स्तरमा बहस अनि प्रश्न उठ्न थालेको छ । सोमवारको वैठक पछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारी निर्णयको अवज्ञा गरेको पाईए संक्रमक रोक नियन्त्रण ऐन अनुसार कारवाही गरिने उर्दी जारी गरेका थिए । तर त्यसको २४ घण्टा वित्नै नपाउँदै प्रधानमन्त्रीको अगुवाईमा सरकारी अधिकारी र ओली नेतृत्वको नेकपाका नेताहरुले प्रधानमन्त्रीको निवासमा नै एक भव्य कार्यक्रम गरी सो निर्णयको अवज्ञा गरेका छन् ।



कोरोना प्रकोप वढेको भन्दै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने निर्णय गर्दै सो निर्णको कडाई पुर्वक पालना गराउने आदेश दिएको थियो । वैठकले वैषाख मसान्त सम्म नियमित पुजा तथा प्राथना वाहेक भिडभाड हुने कार्यक्रम नगर्न आदेश दिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यकै उपस्थितिमा मङ्गलबार बिहानै बालुवाटारमा भव्य रुपमा सयौं मानिस भेला गरी ‘श्री सीता–राम शोभा रथयात्रा स्थापना समारोह’ उद्घाटन गरिएको छ ।

ओलीले मंगलवार वालुवाटारमा उद्घाटन गरेको यो रथ यात्राका क्रममा चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिसलाई भोजको समेत व्यवस्था गरीएको प्रधानमन्त्री कार्यालयले नै जानकारी समेत गराएको छ । सरकारी निर्णयलाई धोती लगाउँदै वालुवाटारमा आयोजना गरेको कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र पर्यटनमन्त्री भानुभक्त ढकाल सहित ठुलो संख्यामा ओली निकट एमालेका नेता अनि सरकारी अधिकारीको सहभागिता रहेको थियो ।

मगंलवार वालुवाटारमा आयोजीत भव्य समारोहमा प्रधानमन्त्री ओलीले पूजा–आजापछि राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री निवासवाट निकालीएका मुर्ती माडीमा पुर्‍याएर रामनवमिका दिन प्रतिस्थापन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले माडीमा रहेको अयोध्यापुरीमा भगवान रामको जन्म भएको दाबी गरेपछि त्यहाँ सीतारामको मूर्ति प्रतिस्थापना गर्ने घोषणा गरेका थिए ।