बिर्तामोड ( राजधानी दैनिकबाट )नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता तथा सिंगो पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले आफ्ना नेता कार्यकर्तालाई त्यस्तो निर्देशन दिएका हुन् । ‘मुलुकको तरल राजनीतिका कारण हामी छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढ्दै गएको छ । यसका लागि हामीले हाम्रो पंक्तिलाई हमेसा तयारी अवस्थामा राख्नुपर्छ ।’ ओलीले प्रतिवेदनमार्फत निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै भनेका छन् ।

OM Sai Pathibhara Hospital

२१ पेजमा समेटिएको प्रमुख ६ वटा बँुदामा केन्द्रित राजनीतिक प्रतिवेदनमा पार्टी एकता, फुटको कारण तथा वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आगामी दिनमा लिनुपर्ने महत्वपूर्ण कार्यभार समेटिएको छ । साथै सरकारले गरेका सफल कार्यसमेत प्रतिवेदनमा समेटिएको छ ।

एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अध्यक्ष ओलीको प्रतिवेदन सुझावसहित पारित भएको जानकारी दिए ।

प्रतिवेदनमा आगामी कार्यभारका रूपमा तीनवटा कुरालाई मुख्य जोड दिइएको उनले बताए । जसमध्ये निर्वाचनमा जानुपर्ने परिस्थिति रहेकाले तयारी अवस्थामा रहन उल्लेख गरिएको छ । ‘कुनै पनि बेला निर्वाचनमा जानुपर्ने भएकाले त्यसका निम्ति तम्तयार हुनका निम्ति पार्टी पंक्तिलाई आह्वान गरिएको छ’ बैठकपछि प्रवक्ता ज्ञवालीले भने ।

यस्तै पार्टी निर्माणका काम, पार्टीलाई नयाँ धरातलमा पुनर्गठित गर्ने विषय, पार्टीलाई कमजोर पार्न अनेक गतिविधि गरिरहेका साथीलाई फर्काउने प्रयासलगायतका विषय प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए । एमालेलाई देशको नेतृत्वदायी शक्तिका रूपमा विकास गर्न पार्टी निर्माणको शुद्धीकरण तथा सुदृढीकरणको विषयमा अध्यक्ष ओलीले जोड गरेका छन् ।

समृद्धिको अभियानलाई तीव्रता दिन तीनै तहका सरकार थप सक्रिय हुनका निम्ति प्रतिवेदनमा आग्रह गरिएको छ । ‘विभाजनकारी गतिविधिमा लागेका साथीलाई ती गतिविधि बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरि पनि फर्किनका निम्ति प्रतिवेदनले आह्वान गरेको छ । नफर्के त्यो कारबाहीको विषय बन्ने कुरा उल्लेख गरिएको छ’ ज्ञवालीले भने ।