बिर्तामोड (राजधानी दैनिकबाट) निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र देशभरका स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको विवरण संकलन थालेको छ ।

उपनिर्वाचनको तयारी र मितिका विषयमा आयोगले सरकारसँगसमेत अनौपचारिक छलफल र संवाद गर्दै आएको छ । आयोगले हालसम्म राष्ट्रिय सभातर्फ दुई, प्रतिनिधिसभातर्फ चार तथा प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ४८ पद रिक्त रहेको बारे जानकारी प्राप्त भएको भनेको छ ।

OM Sai Pathibhara Hospital

आयोगलाई सबैभन्दा सहज राष्ट्रिय सभाको उपनिर्वाचनका लागि छ । कानुनअनुसार आयोगले राष्ट्रिय सभा सदस्यको पद रिक्त रहेको औपचारिक जानकारी पाएको ३५ दिनभित्र उपनिर्वाचनमार्फत पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको काम नै निर्वाचन गर्ने भएकाले आयोग निर्वाचनका विषयमा सधैं तयार र तत्पर रहिरहने बताए ।

‘आयोगको काम नै निर्वाचन गर्ने हो, निर्वाचनका लागि आयोग तत्पर र तयार छ, अहिले पनि आयोगले निर्वाचनका लागि काम गरिरहेको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।