बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी रू। १८ करोड ११ लाख २० हजार खुद नोक्सानीमा रहेको छ । 

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी रकम बढेको छ । गत वर्ष यो अवधिसम्म कम्पनी रू। २ करोड १८ लाख ८ हजार नोक्सानीमा रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन आम्दानी घटेकाले खुद नोक्सानी बढेको देखिन्छ । 

OM Sai Pathibhara Hospital

गत वर्ष तेस्रो त्रैमाससम्म रू। ४१ करोड २२ लाख ११ हजार सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू। १७ करोड ४२ लाख २० हजार मात्र यो आम्दानी गरेको हो । सञ्चालन आम्दानी घटेको कम्पनीको कुल खर्च पनि घटेको छ । गत वर्ष रू। २३ करोड ४ लाख ७२ हजार कुल खर्च भएको कम्पनीको यस वर्ष रू। १७ करोड ६६ लाख ९ हजार मात्र खर्च भएको छ । 

गत पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी माघ २३ गते कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको थियो । माघ २५ गतेदेखि दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू। २ हजार ४०९ रहेको छ । 

दोस्रो बजारमा लगानीकर्ताको आकर्षणमा रहेको यो कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू। ३२ करोड ८ लाख ३८ हजार ऋणात्मक रहेको छ । 

कम्पनीको कुल सम्पत्ति रू। ३ अर्ब ८२ करोड ५१ लाख २१ हजार रहेको छ भने कुल दायित्व रू। २ अर्ब ६१ करोड १८ लाख ६८ हजारको छ । यो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू। ७९ दशमलव शून्य ९ रहेको छ भने प्रतिशेयर आम्दानी रू। ११ दशमलव ८१ नोक्सानीमा देखिएको छ । 

कोरोनका कारण व्यवसायमा असर परेको कम्पनीले जानकारी दिएको छ । तेस्रो त्रैमासको अवधिमा कम्पनीद्वारा सञ्चालित केवलकारमा औसतमा दैनिक १ हजार ४०० जना आगन्तुक र रिसोर्टमा औसत अक्युपेन्सी ४० प्रतिशत रहेको पनि कम्पनीले प्रष्ट पारेको छ ।