विराटनगर/ प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ वर्ष २०७८ को शुभ अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर उन्नति र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले जारी गर्नुभएको शुभकामना सन्देशमा ऐतिहासिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक, भौगोलिक तथा वातावरणीय विविधताले युक्त यस पावन भूमि प्रदेश नं १ का स्वदेश तथा विदेशमा बसोबास गर्ने सबैलाई शुभकामना दिँदै हाम्रो प्रदेश सामाजिक सदाचार, आपसी मित्रता र अनेकताबीचको एकताको प्रतिविम्ब हो भनेका छन् ।
यस्तो अलौकिक आनन्दमय प्रदेशमा बसोबास गर्ने यस प्रदेशका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई राष्ट्रियता, प्रजातन्त्र, आत्मसम्मान एवं मानवअधिकारको रक्षा र प्राप्तिका लागि निर्वाह गरेको अहम् भूमिकाप्रति प्रदेश प्रमुख प्यासीले हार्दिक धन्यवाद दिएका छन् ।
उनले महान, वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहीदहरुको बलिदानीलाई पूर्ण गर्न अहोरात्र खटिने यस प्रदेशका र समग्र राष्ट्रका जिम्मेवार नेपाली नागरिकलाई होस्टेमा हैँसे गर्दै सम्मुन्नत राष्ट्रको विकासका निमित्त आह्वान गरेका छन् । प्रदेश प्रमुख प्यासीले विश्व कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भई नसकेकाले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री राईद्वारा नयाँ वर्षको शुभकामना
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७८ सालको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना उनले गरेका छन् ।
“देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक सङ्क्रमण समाप्त भएको हामीले ठानेका थियौँ तर राजनीतिक अस्थिरतामा आफ्नो भविष्य देख्ने, सधैँको किचलो र खिचातानीमा रमाउनेहरुले देशलाई पुरानै बाटोमा फर्काउन नखोजेका भने होइनन् । यद्यपि लामो राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक, सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीव्रगतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हाम्रो साझा जिम्मेवारी र दायित्वबाट हामी किञ्चित पछि हटेका छैनौँ र हट्ने पनि छैनौँ”, मुख्यमन्त्री राईले शुभकामना सन्देशमा भनेका छन् ।
बितेको झण्डै एक वर्ष कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको लडाइँको वर्ष रहेको र आधा समय त लकडाउनमा नै बिताउनुप¥यो भन्दै सन्देशमा मुख्यमन्त्री राईले अझै पनि हामीहरु कोरोनाविरुद्धको लडाइँमै रहेकाले हामीले थप स्वास्थ्य सावधानी र सजगता अपनाउनु पर्ने उल्लेख गरेका छन् । उनले थुप्रै प्रतिकूलताका बीच वर्ष २०७७ प्रदेश सरकारका लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको चर्चा गरेका छन् । तीन वर्षअघि पहिलोपटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक, सामाजिक रूपान्तरणसहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धिको यात्रामा दृढ सङ्कल्पित रहेको सन्देशमार्फत उनले विश्वास दिलाएका छन्।
“हाम्रो प्रदेशमा भएका स्रोत, साधन र प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एवं समुन्नत बनाउने दायित्व हाम्रो काँधमा छ । नयाँ वर्ष २०७८ विकास निर्माणको महत्वपूर्ण उपलब्धि र परिणामका लागि स्मरणीय वर्षका रुपमा रहने मैले विश्वास लिएको”, सन्देशमा मुख्यमन्त्री राईले भनेका छन्, “यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षाका साथै विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन हार्दिक अपिल गर्दछु ।”