बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम तीव्र गतिमा अगाडि बढेको छ । सरकारले मुख्त्रीमन्त्री र प्रदेश प्रमुखका लागि ललिपुरको भैंसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको काम धमाधम भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।

लकडाउनको अवधिमा पनि काम भएका कारण तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताउनुभयो । उहाँले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको निवास एवं सम्पर्क कार्यालय भवन निर्माणको काम आशालाग्दो ढंगले अगाडि बढेको बताउनुभयो ।हाल २७ रोपनी १३ आना क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण भइरहेको छ । जसअन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र ४ रोपनी १२ आनामा पार्किक तथा हरियाली क्षेत्र हुनेछ । पहिलो चरणमा हाल भवन निर्माणको काम भइरहेको छ । आयोजनाका सिनिरियर डिभिजन इन्जिनियर प्रमोद कर्माचार्यले आगामी ६ महिनाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको बताउनुभयो ।

OM Sai Pathibhara Hospital

उहाँले भन्नुभयो– ‘तोकिएकै समयभित्र सम्पन्न हुने हामीले आशा गरेका छौं ।’ कर्माचार्यले गुणस्तरीयरूपमा भवन निर्माणको काम अगाडि बढिरहेको बताउँदै आयोजनाले नियमितरूपमा भवनको अनुगमन गरिरहेको बताउनुभयो ।हाल सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा भवन निर्माण भइरहेको छ । प्रत्येक ब्लकमा दुईवटा भवन रहेका छन् । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ । भवन सुविधासम्पन्न ढंगले निर्माण भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि निर्माण भइरहेको भवन साढे दुई तलाको रहेको छ । भुइँ तलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ । पहिलो तल्लामा बैठक कक्ष, ध्यान र योग कोठा, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा हुनेछ भने दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठाहरु रहने गरी निर्माण भइरहेको छ । त्यसै गरी, परिसरभित्र ५० वटा बढी निजी सवारीसाधन पार्किङ गर्न मिल्नेछ ।

भवन निर्माणको जिम्मेवारी पाएको केसी(समानान्तर जेभीका आधिकारिक प्रतिनिधि अच्युत खरेलले तोकिएकै मितिमा भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । उहाँले अधिकांश भवनको अहिले फिनिसिङको काम भइरहेको बताउँदै आवश्यक जनशक्ति परिचालन गरेर काम भइरहेको बताउनुभयो । करिब ७३ करोड लागतमा निर्माणाधीन मुख्यमन्त्री एवं प्रदेश प्रमुख भवनको १३ असोज २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।