बिर्तामोड / राजधानी दैनिकबाट गत फागुनसम्मको अवधिकमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात् साउनदेखि फागुनसम्ममा गतवर्षको तुलनामा २।१४ प्रतिशतले बढेर सामान आयात भएको हो ।

गतवर्षको सोही अवधिसम्ममा ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँको आयात भएको थियो । आठ महिनामा निर्यात भने ७।८४ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार फागुनसम्ममा कुल ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ७३ अर्ब ९० करोड ७९ लाखको निर्यात भएको थियो ।

OM Sai Pathibhara Hospital

आयात निर्यातको हिसाबले नेपाललाई ८ महिनाको अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँको व्यापार घाटा भएको छ । गत वर्ष सो अवधिमा ८ खर्ब ४९ अर्बको व्यपार घाटा भएको थियो । भन्सार विभागका अनुसार ८ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको व्यापार कारोबार भएको छ । गतवर्ष यो ९ खर्ब ९९ अर्ब थियो ।

नेपालको कुल व्यापारमा ९२।१२ प्रतिशत आयात भएको छ भने ७।८८ प्रतिशत निर्यातको हिस्सा रहेको छ । यस अवधिमा आयात ५ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकले आठ महिनामा २५ अर्ब रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ मात्र आयात भएको देखिन्छ । प्रशोधित तेल भने २३ अर्बको निर्यात भएको छ ।

पाम आयल आयातमा भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीले भटमासको कच्चा पदार्थ आयात गरेर पुनः प्रशोधन गरी भारततर्फ निर्यात गर्ने गरेका छन् । नेपाली व्यवसायीले कच्चा भटमास ब्राजिल, अर्जेन्टिना र तेस्रो मुलुकबाट आयात गरेर यी वस्तु नेपालमा प्रशोधन गरी पुनः निर्यात गर्छन् । जवकी गत आर्थिक वर्षको आठ महिनामा ७ अर्ब ५२ करोड १५ लाख २८ हजार रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष २ सय ७ प्रतिशतले निर्यात बढेको छ ।

नेपालबाट निर्यात हुने वस्तुमा भटमासको तेल पहिलो नम्बरमा रहेको छ । भटमासको तेलले गर्दा चालू आवको आठ महिनामा निर्यात ७।८ प्रतिशतले बढेर ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजारको निर्यात भएको छ । चालू आवकै अघिल्लो सात महिनासम्म निर्यात ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार थियो ।

नेपालबाट चिया निर्यात ६२ प्रतिशतले बढेर ३ अर्ब २१ लाख ८८ हजार रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ८५ करोड २४ लाख ३१ हजार रुपैयाँको चिया निर्यात भएको थियो । यस्तै आठ महिनामा अलैंची निर्यात ५३ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड १९ लाख ९ हजार रुपैयाँको भएको विभागको तथ्यांक छ । अघिल्लो वर्ष ३ अर्ब २२ करोड ६१ लाख ७८ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो ।

उद्यमी व्यवसायी कमलेशकुमार अग्रवाल व्यापार घाटा गर्न आर्थिक नीति परिमार्जन गर्नुपर्ने बताउँछन् । व्यवसायी र देश विकासका लागि आर्थिक नीति समय सापेक्ष परिमार्जन हुनुपर्ने उनको ठम्याइ छ ।

‘आर्थिक कानुन बारम्बार परिमार्जन गर्दा पनि प्रतिफल दिन सकेको छैन, व्यवसायीलाई सहज बनाउन सकेको छैन,’ उनले भने, ‘ व्यवसायी र देश विकासका लागि आर्थिक नीति समय सापेक्ष परिमार्जन हुनुपर्छ ।’

‘स्वदेशी लगानी प्रवद्र्धन हुन सकेको छैन । सरकार र ब्युरोक्रेसीले निजी क्षेत्रलाई हेर्ने नजर पनि परिवर्तन हुनुपर्छ,’ अग्रवालले भने । कर प्रणाली प्रतिस्पर्धी नबनाउँदासम्म लगानीमैत्री वातावरण नबढ्ने उनको भनाइ छ ।

नेपालको व्यापार घाटा रहेको मुलुकमा सबैभन्दा अग्रपंक्तिमा भारत रहेको छ । भारतसँगको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २७ करोड रहेको छ । भारततर्फ नेपालबाट कुल ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजारको निर्यात भएको छ । आयात भने ९ खर्ब ४४ अर्बको भएको छ । चीनसँगको व्यापार घाटा ५ खर्ब ६४ अर्ब १० करोड ८० लाख रुपैयाँको रहेको छ । नेपालको व्यापार घाटा हुनेहरूमा युनाइटेड अरब इमिरेट, अर्जेन्टिना, अमेरिका, क्यानाडा, इन्डोनेसिया, युक्रेन, कोरिया, अफ्रिका रहेका छन् । व्यापार फाइदा भएका मुलुकमा क्यालोडोनिया, मोन्टेन्ग्रो, कंगोलगायतका छन् ।