बिर्तामोड / गोरखापत्र दैनिकबाट नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ । डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको ज्यानसमेत लिन थालेकाले फायर फाइटिङ हेलिकप्टर भित्र्याउने प्रक्रिया अगाडि बढाइएको हो । फायर फाइटर हेलिकप्टरले डढेलो लागेको स्थानमै पुगेर आकाशमार्ग हुँदै आगो निभाउँछ ।

नेपाली सेनालाई जिम्मा दिने गरी हेलिकप्टर खरिद गर्ने प्रक्रिया अगाडि बढेको वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभयो । नेपालले एन फायर फाइटिङ हेलिकप्टर ल्याउन लागेको बताउँदै उहाँले भन्नुभयो, “हरेक वर्ष डढेलोले वन विनाश बढाएको हुँदा सरकारले आफैँ हेलिकप्टर किनेर नियन्त्रणको बाटोमा अग्रसर भएको हो ।”

OM Sai Pathibhara Hospital

मन्त्री आलेका अनुसार एउटा फायर हेलिकप्टर खरिद गर्नका लागि वन मन्त्रालयले दुई अर्ब रुपियाँ बजेट सरकारसँग माग गरिसकेको छ । कुन देशबाट ल्याउँदा सहज र राम्रो आउँछ त्यस बारेमा बुझ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परामर्श भइरहेको उहाँले बताउनुभयो ।

पहिले दुईवटा फायर फाइटिङ हेलिकप्टर ल्याउने विषयमा छलफल भएको थियो तर तत्काल नसकिने भएकाले एउटा हेलिकप्टर ल्याउन लागिएको हो । दुईवटा भएको भए राम्रो हुन्थ्यो तर नहुनुभन्दा एउटा भए पनि हुन्छ भन्नेमा सबै सरकारी निकायको एकमत रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

अत्यधिक बढेको डढेलो मानवीय प्रयासमा मात्र नियन्त्रणमा लिन कठिन भइरहेको छ । वन जोगाउनकै लागि निभाउन पुगेकाहरूको ज्यान गइरहेकाले सरकारले फायर फाइटिङ हेलिकप्टर खरिद गरेर भिœयाउन थालेको वन मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आबद्ध रहेर नियन्त्रणका लागि रणनीतिमा जुट्नुभएका डढेलो विज्ञ सुन्दर शर्मा अब नेपालमा डढेलो नियन्त्रण गर्न एरियल फायर फाइटिङमा जानुको विकल्प नरहेको बताउनुहुन्छ । डढेलोकै कारण कैयौँ मानिसको ज्यान जाने अवस्था आएकाले यो प्रविधि नेपालमा अत्यावश्यक भएको उहाँ बताउनुहुन्छ । वनको डढेलोमा मात्र हैन, कतिपय अवस्थामा गाउँ वा समुदाय नै खरानी हुने गरी मानव बस्तीमा लागेको आगो निभाउन पनि फायर फाइटर विमानको भूमिका महत्त्वपूर्ण हुने गर्छ ।

फायर फाइटर प्लेन वा हेलिकप्टर दुवै प्रविधियुक्त हुन्छ । यसले कम जनशक्तिको प्रयोगमा फराकिलो क्षेत्रमा लागेको डढेलो निभाउन सक्छ । एउटा हेलिकप्टरमा वातावरणमैत्री अर्थात् पानीले आगो निभाउने र अन्य ग्यासको सहयोगले आगो निभाउने प्रविधि जडान भएका हुन्छन् । विश्वमा विभिन्न मोडेलका फायर फाइटिङ हेलिकप्टर पाइन्छन् ।

हेलिकप्टरभित्रै तीन हजार लिटर पानी अट्ने ट्याङ्की हुन्छ । हेलिकप्टरको बाहिर हात्तीको सुँड आकारको पाइप जस्तो स्वचालित भाग हुन्छ । त्यसले नदी, तलाउ वा मानव निर्मित पोखरीमा पुगेर पानी तान्छ । भरिएपछि डढेलो लागेको स्थानको आकाशमा पुगेर पानी परे जस्तै बर्साउने गर्छ । यसरी आगो निभाउन जाँदा आगोबाट करिब सय मिटरको दूरीसम्मको तापक्रम सहन सक्ने क्षमता यस हेलिकप्टरसँग हुन्छ ।

हेलिकप्टर चलाउन प्रशिक्षण प्राप्त चालक चाहिन्छ, जुन नेपालमा उपलब्ध छैन । जसको अभावमा जसले पायो उसले हेलिकप्टर चलाउँदा दुर्घटना निम्तिने र आगो निभाउन नसकिने अवस्थासमेत आउन सक्छ । विश्वमा अफ्रिकापछि डढेलोको हब दक्षिण एसिया मानिन्छ । अझ त्यसमा पनि नेपाल डढेलोको उच्च जोखिममा रहेको विशेष मुलुक हो । विज्ञ शर्माले भन्नुभयो, “यहाँ धेरै पहाड छन्, त्यसैले वन डढेलो नियन्त्रण भारतमा जस्तो सहज छैन ।”