काठमाडौं  / छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएको त्यहाँको सरकारी तथ्यांकमा उल्लेख छ ।

योसँगै भारत संसार दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो नम्बरमा पुगेको बताइएको छ । शुक्रबार भारतमा ८९ हजार मानिसमा संक्रमण देखिएको टाइम्स अफ इन्डियाले समाचारमा उल्लेख गरेको छ ।

यति धेरै संक्रमित उक्त दिन अरू देशमा भेटिएका थिएनन्। त्यो दिन अमेरिकामा ७० हजार र ब्राजिलमा ६९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको थियो। यसअघि गत अक्टुबरमा भारतमा दिनहुँ संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिन्थे।

संक्रमित थपिएसँगै भारतमा मृतकको दैनिक संख्या पनि उकालो लागेको छ। शनिबार भारतमा कोरोना संक्रमणबाट ५ सय १४ जनाको मृत्यु भएको छ। यो संख्या गत डिसेम्बर ४ यता सबैभन्दा धेरै हो। भारतका महाराष्ट्र, छत्तीसगढ, मध्यप्रदेश, गुजरात, तमिलनाडु लगायत राज्यहरूमा संक्रमण तीव्र रूपमा फैलिरहेको समाचारमा जनाइएको छ ।