बिर्तामोड ( कारोवार दैनिकबाट ) नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ । बिहिबार बैंकहरुलाई निर्देशन जारी गर्दै दैनिक दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । कोभिड–१९ को महामारी सुरु भएसँगै सरकारले विदेशी मुद्राको खर्चमा मितव्ययी हुनका लागि सुन आयातमा कडाइ गर्दै दैनिक १० केजी मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । कोभिड महामारी कम भएपछि भने बजारमा सुन अभाव भएको भन्दै कोटा बढाउने व्यवसायीले लविङ गर्दै आएका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भरद्वय डा। नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई भेटेर सुन आयात बढाउन माग गरेका थिए । उनीहरुले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकोले भन्दै सोही परिमाणमा सुन उपलब्ध गराउन माग गरेका थिए ।

OM Sai Pathibhara Hospital

आयात कोटा वृद्धिले बजारको माग पूरा नभएपनि राहत भएको व्यवसायीले प्रतिक्रिया दिए । “सुन अभावले व्यवसायी काकाकुल भएका थिए” नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने, “कोटा वृद्धिले थोरै भएपनि राहत दिएका छ ।” बैशाखमा विवाहको लगन नजिक आएको र सुनको भाउ पनि घटेकाले बजारमा माग भने बढिरहेको उनले दावी गरे ।

सुनचाँदीको अत्याधिक आयातका कारण व्यापारघाटा उच्च भएपछि सरकारले २०६७ सालदेखि सुनचाँदी आयातमा नियन्त्रण थालेको हो । सरकारले सुनचाँदी आयात तथा बिक्रीको नियमन गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई दिएको थियो । त्यसपछि राष्ट्र बैंकले सुनचाँदी आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि जारी गर्दै वाणिज्य बैंकले मात्र आयात गर्न पाउने गरी दैनिक कोटा समेत निर्धारण गरेको हो । २०७० सालमा चाँदीको आयात व्यापारीहरुले पनि गर्न सक्ने व्यवस्था गरिएको छ ।

कार्यविधिमा बैंकहरुले आयात गरेको सुन व्यवसायीका संस्थाहरुको सिफारीसमा मात्र बिक्री गर्नुपर्ने र उक्त सुन व्यवसायीले गरगहना बनाएर मात्र बिक्री गर्नुपर्ने पाउने प्रावधान छ । आयातित सुन बिक्रीका लागि उपत्यका र उपत्यका बाहिरका व्यवसायीका लागि छुट्टाछुट्टै कोटा समेत तोकिएको छ । व्यवसायीहरुले ढिक्का सुन बिक्री गर्न नपाउने व्यवस्था कार्याविधिमा गरिएको छ । तर, यसबारेमा प्रभावकारी अनुगमन नहुँदा बैंकहरुले आफूखुशी सुन बिक्री गर्दै आएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।

कार्यविधि अनुसार तोकिएको आयातसम्बन्धी कोटा समय–समयमा परिवर्तन हुँदै आएको छ । राष्ट्र बैंकले कोरोनाअघिसम्म दैनिक २० किलो सुन आयात गर्न सकिने गरी कोटा निर्धारण गरेको थियो । यसैगरी चाडपर्वको सिजनमा दैनिक २५ किलो सुन आयात गर्न सकिने व्यवस्था गर्दै आएको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघसम्ममा १५ अर्व बराबरको सुन आयात भएको छ । गत आवको यसै अवधिमा ९ अर्व १९ करोड बराबरको सुन आयात भएकोमा ६३ प्रतिशतले वृद्धि भएको छ ।