बिर्तामोड (राजधानी दैनिकबाट )जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरू उनको पक्षमा रहेको बताए । रिपोर्टर्स क्लब नेपालले हिजो मंगलबार काठमाडौं मा आयोजना गरेको २३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ठाकुरले भने, विगतका धेरै नेताले हाम्रो एजेन्डा सम्बोधन गर्छौं भने पनि अन्तिममा आएर धोका दिएको तर हालका प्रधानमन्त्री ओलीले गर्न सक्नेसम्मका काम गर्ने भनेर स्पष्ट जवाफ दिएका छन् । ‘उहाँ धेरै कुरामा सकारात्मक हुनुहुन्छ तर पनि हामीलाई लिखित सहमति चाहिन्छ’, अध्यक्ष ठाकुरले भने ।

मुलुकमा सबैलाई डेमोक्रेसी आएको हो भने मधेशी र थारूहरू किन अहिलेसम्म पनि जेलमा भन्दै उनले प्रश्न गरे । उनले संविधान संशोधनको विषय आफूहरूको मात्रै नभएर देशकै माग भएको पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनका लागि आफूहरूलाई आग्रह गरेको सुनाए । तर, आफ्ना माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने जवाफ आफूहरूले दिएको उनले स्पष्ट पारे ।

OM Sai Pathibhara Hospital

मंगलबार मात्रै पनि प्रधानमन्त्री ओलीका नजिकका मान्छेले आफूलाई भेटेको ठाकुरले जानकारी दिए । आफूहरूले उठाएका माग पूरा गर्नका लागि अन्तिम तयारी भएको कुरा सुन्नमा आएको भन्दै त्यसका लागि उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । कार्यक्रममा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले म्यानमारमा भएको क्रुरताविरुद्ध एक शब्द पनि नबोलेको भन्दै सरकारको आलोचना गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई फेरि चुनावमा लाने खेल भइरहेको भन्दै त्यसले गम्भीर खतरा उत्पन्न गर्ने दाबी गरे । कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले नेपालको सन्तुलन र नियन्त्रणका अंगहरू भागबन्डाको मारमा परेको टिप्पणी गरे ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नै मुलुकले विकास र समृद्धिको यात्रा तय गर्ने भन्दै आफूहरूले सुरुदेखि नै यसको पक्षमा भूमिका खेलेको स्मरण गराए । उनले यो देशका हरेक तह र तप्काले प्रधानमन्त्री ओलीलाई मन पराएको स्पष्ट पारे ।