सोलुखुम्बु /  सोलुखुम्बु जिल्लाको थुलुङ की एक महिलामाथि ऋणको ब्याज नतिरेको भन्दै यौन शोषण हुँदै आएको घटना सार्वजनिक भएको छ । दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला विगत चार वर्ष देखि यौन तथा श्रम शोषणमा परेको घटना सार्वजनिक भएको छ । स्थानिय ६८ वर्षीय खड्गबहादुर राईले छ हजार ऋण दिएर श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

सदरमुकाम सल्लेरीमा  सञ्चारकर्मीसँग कुराकानी गर्दै ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आएको बताएकी छन् । आर्थिक अवस्था कमजोर बनेपछि बि.सं.२०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको महिला र सो को सावाँ व्याज तिर्न नसकेपछि आफु श्रम अनि यौन शोषणमा परेको दावी गरेकी छन् । उनले भनिन “ऋण लिएपछि असार ४ गतेबाट मलाई उनले घरमा बारम्बार काम गर्न बोलाए”, आँशु झार्दै ति महिलाले भनिन् , “आर्थिक अवस्था कमजोर भएपछि आफु उनले  जे भन्यो त्यो मान्न बाध्य भए । ”

OM Sai Pathibhara Hospital

घरायसी काम सँगै तीन÷चार दिनको फरकमा आफु माथि जबरजस्ती शारीरिक सम्पर्क राखेको उनले दावी पनि गरेकी छन् । ऋणको बदलामा दिनभरी काम गरेर उसले चालेको बेलामा यौन सम्पर्क समेत गर्नु पर्ने ति महिलाले आरोप लगाएकी छन् । शारीरिक सम्पर्क राख्न तयार नहुदाँ ज्यान मार्ने सम्मको धम्की दिने गरेकाले आफु विवश बन्ने गरेको उनले दावी समेत गरेकी छन् । राईले आफुलाई मात्रै नभएर अन्यलाई समेत डर अनि धम्की देखाएर श्रम शोषण गर्ने गरेको समेत महिलाले आरोप लगाएकी छन् । उता राईले भने आफुले त्यस्तो नगरेको दावी गरेका छन् ।

घटनाको विषयमा महिला यसो भन्छिन्:

खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नेदेखि खन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि बोलाउने गरेका थिए ।  “शुरुमा काम गर्न बोलाउँथे अनि भन्थे मलाई व्याज चाहिँदैन । केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै टारे अनि मलाई काममा लगाई रहे ।

राईले २०७५ सालदेखि म माथि निरन्तर श्रम अनि यौन शोषण गरिरहे । आफ्नो ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घरमा आउने अनि जबरजस्ती यौन शोषण गर्थे । मध्यराति पनि करिब १२ बजेतिर  घरमा आएर  कसैलाई भने ज्यान मार्ने धम्की समेत दिन्थे ।

राईको शोषणको विषयमा पतिलाई जानकारी गराएँ अनि  काममा  नजाने निधो गरेको थिए ।  तर आफूसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नु पर्यो ।

महिला सञ्जालको सहयोगमा जाहेरी दर्ता:

घटनाका विषयमा जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दायर भएको छ ।

खड्गबहादुरलाई पक्राउ गरी अनुशन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी गराएका छन् । अनुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा बुझाइएकामा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई रु १ लाख २० हजार धरौटी माग गर्ने आदेश दिएको छ ।

महिला पक्षले भने  अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन् । राईको मात्रै बयानका आधारमा धरौटीमा रिहा भएको भन्दै पिडित पक्षले न्याय नपाउने सम्भावना बढेको बताएका छन् ।

ज्यान नै जोखिममा रहेकाले  गाउँ फर्कन नसक्ने पीडित परिवारले बताएको छ । पिडितले पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र सात जना छोराछोरी गाउँमै छिमेकीको घरमा शरण लिइरहेको महिलाले जानकारी गराएकी छन् । रासस को सहयोगमा तयार समाचार