काठमाडौं(एजेन्सी) उत्तर कोरियाले केही दिनको अन्तरालमा दुई पटक क्षेप्यास्त्र परीक्षण गरेर फेरि छिमेकी मुलुक र पश्चिमा जगतलाई झस्काएको छ । 

अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको स्वाभाविक रुपमा उल्लङ्घन गर्दैै उत्तर कोरियाले विकास गरेका यी क्षेप्यास्त्र नियन्त्रित र निकै उन्नत रहेको भनाई सार्वजनिक भएको छ । एक वर्षको अवधिमा गरिएको यो पहिलो प्रक्षेपक (ब्यालिस्टिक) क्षेप्यास्त्र परीक्षण हो । अझ संयुक्तराज्य अमेरिकामा राष्ट्रपति जो बाइडेनले सपथ लिएपछि “हामी यहाँ छौं” को शैलीमा उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेर आफूलाई नजरअन्दाज नगर्न साङ्केतिक चेतावनी पनि दिएको छ । 

OM Sai Pathibhara Hospital

बाइडेन प्रशासनले तत्कालै चेतावनी पनि दिएको छ, हामी कोरियाली द्वीप क्षेत्रमा उत्तर कोरियाले तनावको वातावरण सिर्जना गर्नेक्रम नरोके त्यसको उचित सम्बोधन गरिने छ ।

उत्तर कोरिया मामिलालाई एक मुख्य कार्यसूची बनाएर बाइडेन प्रशासनका दुई प्रमुख व्यक्तिहरु अर्थात् विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले गत साता जापान र दक्षिण कोरियाको संयुक्त भ्रमण गरिसकेका छन् । यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो । चीनको बढ्दो सामरिक प्रभाव र उत्तर कोरिया मामिलालाई सम्बोधन गर्न अमेरिकाका परम्परागत गठबन्धनलाई अझ बलियो बनाउनेतर्फ यो भ्रमण केन्द्रित रहेको थियो । यहीबीच दक्षिण कोरिया र अमेरिकी सेनाले सीमित किसिमको सिमुलेसन विधिबाट संयुक्त सैन्य अभ्यास पनि गरेका छन् भने दक्षिण कोरियामा अमेरिकाले गर्ने सैन्य खर्चको विषयमा पनि सहमति जुटेको छ । 

अर्थात् बाइडेन प्रशासनले उत्तर कोरिया मामिलामा वार्ता वा थप दबाब के गर्ने भन्ने स्पष्ट सन्देश नदिएसँगै उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण र आधुनिक हातहतियार देखाउन थालेको छ ।