काठमाडौँ / शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो । 

OM Sai Pathibhara Hospital

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । उनका अनुसार सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।

विभागका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन–चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव ९ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।