बिर्तामोड (कान्तिपुर दैनिकबाट) पोहोर फागुन सुरुदेखि नै कोरोना संक्रमणको त्रास बढ्दा बिस्तारै आर्थिक गतिविधिमा मन्दी छाएको थियो । अटोमोबिल व्यवसायीहरूले विभिन्न कम्पनीका गाडी झिकाए, ग्राहकको माग नै घट्यो । कोरोनाले निम्त्याएको संकटलाई ध्यानमा राख्दै सरकारले धेरै विदेशी मुद्रा बाहिरिने सवारीको आयातमा पनि कडाइ गर्यो ।
अर्डर नै नभएपछि त्यसबेला उनीहरूले भन्सारमा आइपुगेका गाडी छुटाएका थिएनन् । त्यसबेला वीरगन्ज भन्सारको यार्ड गाडीले भरिएको थियो । लकडाउन हट्यो । त्रासकै बीच जनजीवन सामान्यतर्फ फर्किंदा मास्क लगाउनु र साबुनपानीले हात धुनु स्वास्थ्य सुरक्षाका लागि जति जरुरी भयो, त्यो जतिकै ध्यान दिनैपर्ने बन्यो– सामाजिक दूरी कायम गर्नु, भीड नगर्नु ।
यसको सोझो असर सवारीको बजारमा पर्यो । धेरैलाई निजी सवारी लिनैपर्ने बाध्यता आइलाग्यो । साधन खरिद गर्न चाहनेका लागि सम्बद्ध कार्यालय र बैंक तथा वित्तीय संस्था पनि कर्जा दिन सहज भए । चालु आर्थिक वर्ष लागेलगत्तै आर्थिक गतिविधि सामान्य बन्दै गएपछि सबैखाले सवारी साधनको आयात बढेको छ । नयाँ गाडी भन्सारमै थन्क्याउनुपरेको छैन ।
भन्सार विभागको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार दुई र चारपांग्रे सवारीको आयात बढेको हो । गत साउनदेखि फागुनसम्म २१ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार ३ सय थान दुईपांग्रे सवारी आयात भएको छ । सोही अवधिमा २२ अर्ब २८ करोड ९४ लाख रुपैयाँ बराबरको १९ हजार १ सय ४ थान चारपांग्रे सवारी आयात भएको विभागको तथ्यांक छ ।
दुईपांग्रेतर्फ सबैभन्दा बढी कात्तिकमा ३ अर्ब ९६ करोड ९५ लाख रुपैयाँका ४३ हजार ९ सय २१ थान सवारी आयात भएको छ । असोजमा ३ अर्ब ९४ करोड ३० लाख रुपैयाँका ४२ हजार ४ सय ४३ थान सवारी भित्र्याइएको छ । फागुनमा ३ अर्ब ५४ करोड ७५ लाख रुपैयाँका ३७ हजार ५ सय ८९ थान दुईपांग्रे सवारी आयात भएको छ ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा० का अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार कोभिडले गर्दा अटो बजार लामो समय थलियो । व्यापार व्यवसाय ठप्प बन्यो । दसैंयता भने बजार चलायमान बन्दै गएको छ । अहिले सबैभन्दा बढी माग दुईपांग्रे सवारीको छ । ‘अहिले बजार सुधार हुँदै गएको छ,’ दुलालले भने, ‘आयात पनि बढिरहेको छ ।’
सवारीको मागअनुसारै आयात हुने गरेको छ । चाडबाडको समयमा विभिन्न छुट अफरले गर्दा दुईपांग्रे सवारी लिनेको संख्या ह्वात्तै बढेको हो । त्यसपछि बजार केही सहज बन्दै गएको नाडाले जनाएको छ । विभागको तथ्यांकअनुसार सबैभन्दा बढी असोजमा ३ अर्ब १ करोड ५८ लाख रुपैयाँ बराबरका ३ हजार २ सय ५१ थान चारपांग्रे सवारी आयात गरियो ।
माघमा ३ अर्ब ६१ करोड ३ लाख रुपैयाँका ३ हजार १ सय ७३ थान र फागुनमा ३ अर्ब ३१ करोड ७५ लाख ५९ हजार रुपैयाँका ३ हजार ३६ थान चारपांग्रे सवारी भित्र्याइएको छ । विभागले आठ महिनामा दुईपांग्रेबाट २१ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चारपांग्रेबाट पनि ३२ अर्ब १५ करोड ४१ लाख रुपैयाँ राजस्व उठेको छ ।
अध्यक्ष दुलालका अनुसार तीनरचार वर्षदेखि सवारी साधनको आयात घट्दो क्रममा थियो । यसपालि भने बढ्दो रहेको उनको भनाइ छ । दुईपांग्रे सवारी अघिल्लो वर्षभन्दा डेढ गुणा बढी आयात भएको उनले बताए । चारपांग्रे सवारीको आयात पनि बढ्दै गएको छ । ‘अटोमोबिल्सका सबै क्षेत्रमा अहिले उत्साहजनक अवस्था छ,’ उनले भने, ‘कोभिडले लामो समय असर गरे पनि अहिले राम्रो छ ।’
उनका अनुसार महँगा सवारीमा रोक लगाउँदा धेरै सवारी भन्सारमै रोकिएका थिए । ‘त्यस्ता सवारी ल्याउन नपाएर एक वर्षभन्दा बढी समयदेखि भन्सारमा रोकिएका थिए, जसले गर्दा व्यवसायी डुब्ने खतरा थियो,’ उनले भने, ‘महँगा सवारीको आयात खुला गरिदिएर सरकारले राम्रो काम गरिदिएको छ ।’